किसानलाई प्रोत्साहनः सुत्केरी भैँसीलाई भत्ता

64

साउन १०,
म्याग्दी । मंगला गाउँपालिकाले सुत्केरी भैँसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिनुभयो ।

कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैँसीको आहराका लागि भत्ता उपलब्ध गराइएको हो । व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताउनुभयो । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ ।

यसैगरी मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक कृषकलाई रु एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाउनुभएको हो ।