असार ३१, नयाँ पत्रिका दैनिक
-उपेन्द्र खनाल
तनहुँ । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् ।
अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले तीन घन्टा र घर फर्किंदा चार घन्टा लाग्ने गरेको छ । कक्षा १० मा अध्ययनरत बबिसरा थापाले विद्यालय जान बिहान सबेरै हिँड्नुपर्ने र घर पुग्दा रात पर्ने गरेको बताइन् । थापा भन्छिन्, ‘भात खाएर सुत्नका लागि मात्र घर आउजाउ गर्नुपरेको छ, आमाबाबाले घरको काम सघाइदिन्छिन् कि आस गर्नुहुन्छ, तर सघाउन पाएको छैन ।’
विद्यार्थीलाई सास्ती
टाढाको विद्यालय पुग्नुपर्दा विद्यार्थीलाई सास्ती भएको छ । टाढा भएका कारण विद्यालय पुग्न ढिला हुँदा शिक्षकको गाली सहनुपर्र्ने विद्यार्थी बताउँछन् । कक्षा ९ मा अध्ययनरत उषा थापाले भनिन्, ‘४ बजे बिदा हुन्छ, घरमा आइपुग्दा ७ बज्छ, जंगलको बाटो आउँदा डर लाग्छ, घरमा पुग्दा कहिलेकाहीँ त सुत्ने वेला हुन्छ ।’ झरी पर्दासमेत विद्यालय जान कठिन रहेको विद्यार्थीको दुखेसो छ । गाउँपालिकाको ३ नं। वडामा एउटा पनि मावि नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको हो ।
३५ विद्यार्थी दैनिक सात घन्टा हिँड्छन्
भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक यमनारायण चालिसेले वडा नम्बर ३ बाट ३५ भन्दा बढी विद्यार्थी तीन घन्टा हिँडेर आउने गरेको बताए । गाउँमा एउटा मावि भएमा विद्यार्थीलाई सहज हुने उनले बताए ।
विद्यालय जाँदा टर्चलाइट
जाडो मौसममा दिन छोटो हुने भएकाले विद्यार्थीले टर्च बोकेर विद्यालय जाने गरेका छन् । घर फर्किंदा अँध्यारो हुने भएकाले टर्च बोकेर विद्यालय जाने गरेका हुन् । जंगलको बाटो भएकाले उनीहरू सबै समूहमा नै घर फर्कने गरेका छन् ।