उत्पादित सामग्री निकुञ्जबाट ल्याउन पाउने

167

जेठ २०,
चितवन । दक्षिण चितवनको माडीका जनताले अब तोकिएका सामग्री निकुञ्जबाट ल्याउन पाउने भएका छन् । माडी नगरपालिका र स्थानीय जनताको लामो प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तोकिएका सामग्री ल्याउन दिने भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्ज विभागले तोकेर परिपत्र गरेकाले ती सामग्रीलाई चेकजाँच गरी भरतपुर लैजान दिने जानकारी दिनुभयो । सो निर्णयसँगै अब माडिका जनताले घरायसी प्रयोजनका लागि निजी जग्गामा उत्पादन भएको निउरो, अमृसो, खरेटो र कुचो निकुञ्जको बाटो हुँदै भरतपुर ल्याउन पाउँछन् । यसअघि कुनै पनि चिज ल्याउन पाउने थिएनन् । कुचो, खरेटो २,३ वटा मात्रै र आफ्नै बारीको निउरो दुई मुठा मात्रै ल्याउन दिने निकुञ्जले जनाएको छ ।
यस्तै बाँसका सामग्रीसमेत माडीबाट निकुञ्ज हुँदै भरतपुर ल्याउन दिने गरी विभागले परिपत्र गरेको चितवन निकुञ्जका प्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएका सामग्रीबाहेक अरु ल्याउन पाइने छैन । घरायसी प्रयोजनका लागि चेकजाँच गरेर मात्रै भरतपुर ल्याउन दिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काद्वारा हस्ताक्षरित परिपत्रमा उल्लेख छ ।