दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो, अनुसन्धान सुरु

514

जेठ ६,
क्युवा । क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरूको संख्या ११० पुगेको छ। क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरू ११ जना विदेशी नागरिक छन्। मृत्यु भएका विदेशीहरूमा चालक दलका छ जना सदस्य मेक्सिकोका छन्। दुर्घटनामा परेका मध्ये १९ वर्षका मैलेन, २३ वर्षका ग्रेटेल लान्ड्रोभेल र ३९ वर्षका इमिली सन्चेज गरी तीनजना मात्र जिवित रहेका थिए। उनीहरुको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। यसैबीच दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटिएको छ। अधिकारीहरूले एउटा ब्ल्याक बक्स भेटिएको र यसका आधारमा अनुसन्धान सुरु गरिएको बताएका छन्। अधिकारीहरूले ब्ल्याक बक्स भेटिएपछि यसबाट अनुसन्धानको काम अब सजिलो हुने पनि बताएका छन्। क्युबामा सन् १९८० पछि पहिलो पटक यति ठूलो दुर्घटना भएको हो। त्यसैले यहाँको सरकारले शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणा गरेको छ।