टेलिकमको उपकरण चोरी गर्ने चारजना पक्राउ

224

माघ ११,
सप्तरी । सप्तरी प्रहरीले नेपाल टेलिकमको बीटीएस साइटबाट विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सिराहाको लहान नगरपालिका-१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, वडा नम्वर ३ ढगराहाका ३५ वर्षीय सूर्य नारायण महतो, ३५ वर्षीय पवन जयसवाल र सिराहाकै गोलबजार नगरपालिका-४ का ४१ वर्षीय दिपक अग्रवाल छन् ।

प्रहरीका अनुसार पक्राउ परेका चारैजना मिलेर सप्तरीको सुरुङ्गा नगरपालिका-२ हर्दियास्थित टेलिकमको बीटीएस साइटबाट गत पुस २३ गते लाखौं मूल्य बराबरको उपकरण चोरेर लगेका थिए । पक्राउ परेकाहरु मध्ये राकेशले टेलिकमकै कर्मचारी भन्दै गत पुस २३ गते नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको करिब १० लाख मूल्य पर्ने २४ थान ब्याट्री र ३५ एमएमको २० मिटर र अर्थिङ केवलको २५ मिटर तार लगेका थिए ।

पक्राउ परेका अन्य व्यक्ति भने यादवले ल्याएको उपकरण खरीद–बिक्री गरेको पाइएको सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए । उनीहरुले उपकरण ल्याउन ना।४ ख। ७२४६ नम्वरको मिनी ट्रक प्रयोग गरेका थिए । २४ वटा ब्याट्री मध्ये ७ वटा ब्याट्री फेला परेको र अन्य ब्याट्री भारततर्फ पठाएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय राजविराजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरुविरुद्व जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले बताए ।