जेठ ६,
डोल्पा । हिमाली जिल्ला डोल्पामा धान रोपाई सुरु भएको छ। मानो रोपेर मुरी फलाउने सिजनको रुपमा चिनिने धान रोपाई डोल्पाका त्रिपुराकोट, जुफाल, गल्ली, खदाङ, लिकु, दुनै, रल्ली लगायतका बस्तीहरूमा गरिँदै आएको छ। जिल्लाको अधिकाशं भुगोल भिरालो एवं सिँचाई सुविधा विहिन भएकाले कोदो, फापर, चिनो, मकै लगायतका अन्नबाली मात्र लगाउने गरिन्छ। धान रोपाई सिमित क्षेत्रमा मात्रै गर्ने गरिन्छ। बहुमुल्य जडिबुटी यार्सागुम्बाको टिप्ने चटारोसँगै डोल्पाली कृषहरूलाई धान रोपाईको चटारोले पनि भेटेको छ। धान रोपाईको सिजन सुरु भएसँगै डोल्पाका फाँटीला ज्युलाहरू खेतालाहरूले भरिभराउ भएका छन्। परम्परागत बालीको रुपमा चिनिने धान रोप्न धेरै खर्चिलो हुने कृषहरू बताउँछन्। यार्सागुम्बा सिजन चलिरहेको बेला धान रोपाई सुरुहुने भएकाले खेताला नपाएर समस्या हुने त्रिपुरा सुन्दरी नगरपालिका १ का नैनानन्द देवकोटाले बताए। यस समयमा मान्छेहरू सबै यार्सागुम्बा टिप्न यार्सा पाटन जाने भएकाले पनि कामगर्ने मान्छे पाउन समस्या भएको हो। जेठदेखि असारसम्मको समयमा सबै यार्सापाटनतिरै आम्दानीगर्न जाने भएकाले एक जना मान्छेलाई काममा लगाउन सातसय देखि एक हजारसम्म ज्याला तिर्नुपर्ने देवकोटाले बताए। डोल्पामा रातो, औँलेमार्सी, कालीमार्सी लगायतका प्रजातिको धान रोपिने गर्दछ। डोल्पामा यसरी फलाईएको धानको चामलको बिक्रीगर्दा पनि राम्रो मूल्य पाउने गर्छन् कृषक। प्रतिष्ठित व्यक्तिहरूको रोजाईमा पर्ने भएकाले कालीमार्सी र रातो धानको चामल नेपालगञ्ज, काठमाडौं, सुर्खेत लगायतका सहररूमा माग हुने गरेको छ।