डिजाइन नमिल्दा पुल अलपत्र

207

नयाँ पत्रिका दैनिक- बैशाख २४,
रौतहट । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रौतहट र सर्लाही जोड्ने बागमती नदीको पुलको डिजाइन अपूर्ण रहेको खुलेको छ । डिजाइन पूरा नहुँदा ठेकेदारले पुल अलपत्र छाडेका छन् ।शिलान्यास गरेको आठ वर्षपछि पनि पुल निर्माणका लागि केही पिलर मात्र हालेर छाडिएको छ । ठेक्का सम्झौतामा पुलमा १६ वटा पिलर हाल्नुपर्ने भन्ने छ । तर, २१ वटा पिलर राख्नुपर्ने भएपछि निर्माण रोकिएको हो । ३० जेठ ०७० मा बनिसक्नुपर्ने पुलमा केही पिलर राख्नेबाहेक अन्य काम भएको छैन । पुलको डिजाइन जमिनको सतहभन्दा तल हुने गरी गरिएकाले निर्माणमा समस्या भएको स्रोतले जनाएको छ । अहिलेको डिजाइनअनुसार पुल बनाए वर्षामा नदी पुलमाथिबाट बग्नेछ । अहिले बनाइएका केही पिल्लर पनि नदीको सतहभन्दा केही फुट मात्र माथि छन् । तत्कालीन प्रधानमन्त्री नेपालले पुलको ३१ जेठ ०६७ मा शिलान्यास गरेका थिए । पुलको ठेक्का भौतिक योजना तथा निर्माण मन्त्रालयले नै लगाएको थियो । २१ पिलर आवश्यक भए पनि डिजाइनअनुसार १६ पिलर हुने गरी ठेक्का लगाइएको थियो । पुल बनाउन लुम्बिनी बिल्डर्स प्रालिले ३५ करोड ८९ लाख नौ हजार चार सय ७३ मा ठेक्का लिएको थियो । तर, वर्षौैंदेखि ठेकेदार र उसका प्रतिनिधि तथा कामदार साइडमा नआएको स्थानीयको भनाइ छ । स्थानीयले भने दलहरूले नै कमिसनको लोभमा पुल बन्न नदिएको बताएका छन् । स्थानीय सीताराम उपाध्यायले पुल नबन्दा प्रत्येकपटक ठेक्का अवधि थपिँदै जाने र दलका स्थानीय नेताले कमिसन पाउने उनको दाबी छ ।

सुशील कोइरालाले उद्घाटन गरेको पुल पनि बनेन

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको गौर नगरपालिकानजिक रहेको बकैया खोलाको पुल पनि बन्न सुरु भएको छैन । पुल नबन्दा खोलापारिका बासिन्दालाई सदरमुकाम आउन समस्या हुने गरेको छ । सो क्षेत्रका बासिन्दाले सदरमुकाम गौर आवतजावतका लागि हिउँदमा बाँसको पुल बनाउँछन् । वर्षामा भने भारत हुँदै गौर पुग्नुपर्छ ।