ब्याजको चक्करमा बिल्लिबाठ

191

बैशाख २४,
नेपालगञ्ज–५ गणेशपुर निवासी मिनादेवी सिजापति यस्तो पात्र हुन्, जसले ढुकुटी खेल्न र खेलाउनका लागि थुप्रै व्यक्तिबाट राम्रो ब्याज दिने आश्वासनमा झण्डै ४ करोड रुपैयाँ लिइन् । जब उनी नेपालगञ्ज छाडेर सम्पर्कविहीन भईन्, तब ठगीको रहस्य खुल्यो । उनले आफन्त, इष्टमित्र, साथी मात्रै हैन, सामान्य परिचितलाई समेत मनग्गे ब्याजको लोभमा फसाएकी थिइन् । अहिले मिनादेवी सम्पर्कविहीन छिन् । ब्याजको लोभमा उनलाई आफ्नो जायजेथा सुम्पनेहरु अलपत्र । उनीहरुले न ब्याज पाए न साउँ नै । उनीहरु यतिबेला घर न घाटका भएका छन् । धेरै ब्याज पाउने लोभमा आफ्नो नगद, सम्पत्ति अवैधरूपमा सुम्पिँदा फसेकाहरु सार्वजनिक हुँदैछन् ।

यस्तैमध्येकी पीडित हुन्, नेपालगञ्ज बुलबुलियाकी गीता पौडेल । मिनाको कुराबाट मख्ख भएर गीताले घर जग्गा मात्र होइन, गहनासमेत सुम्पिइन् । ‘एक करोडबराबरको सम्पत्ति मिनादेवीसँग फसेको छ,’ गीताले पीडा पोख्दै भनिन्, ‘उसले मेरो यसरी बुद्धि भुटिदिई, पैसा मात्र होइन, चार कोठे मेरो घर पनि उसकै नाममा पास गरिदिएँ, गहना पनि सबै बुझाएँ, सम्पत्ति भन्ने चिज मसँग अब केही छैन ।’ ढुकुटी खेलेर एउटी महिला ९मिना० ऋणमा डुबेको कुरा २०६८ सालतिर गीताले सुनिन् । ‘कुनै महिलाले पनि दुःख पाएको कुरा म सुन्न सक्दिन,’ उनले भनिन्, ‘ढुकुटी खेलाएर ऋणमा डुबेकी मिनालाई मैले भेट्न खोजेकी थिएँ, एकजना दिदीले भेट गराइदिनुभयो ।’ मिनासँग उनको सामान्य चिनजान भयो । मिनाले आफू ऋणमा डुबेको भन्दै गीतासँग सहयोगको अपेक्षा गरिन् । गीता पनि सहयोग गर्न सहमत भइन् । तर, मिनाले एकल महिला गीतासँग रहेको सम्पत्ति असुल्ने उपाय रचिन् ।

गीता यति नजिक भइन् कि आफ्नो सबै सम्पत्ति सुम्पिनसमेत तयार भइन् । मिनालाई ‘ऋणबाट मुक्त गराउने अभियान’ को नेतृत्व नै गरिन् । गीताले घटना सार्वजनिक गर्दा धेरै चकित भए । ‘मिना सिजापतिको कुराबाट म साह्रै प्रभावित भएँ, केही सहयोग गरौं भनेर मैले सुरुमा डेढ लाख रुपैयाँ दिएर उनलाई ऋणबाट मुक्त गर्ने अभियानको नेतृत्व गरेँ,’ गीताले भनिन्, ‘मैले सहयोग गरेपछि उनी ऋणबाट मुक्त भइन् तर मसँग एक करोडको सम्पत्ति पाएपछि बिस्तारै सम्पर्कमा आउन छाडिन् ।’ ‘एक करोड जति पैसा खाएर मिना सम्पर्कविहीन भएको दुई वर्ष जति भइसक्यो, अहिलेसम्म उनी कहाँ लुकेर बसेकी छिन्, केही थाहा छैन,’ गीताले भनिन्, ‘मुद्दा गर्न जाऊँ भने प्रमाण पनि छैन, मुद्दा लड्न चाहिने पैसा पनि छैन’ उनले भनिन् । नेपालगञ्ज–१० आदर्शनगर निवासी सुमन श्रेष्ठ पेशाले सामुदायिक विद्यालयको शिक्षक हुन् । सुमनलाई कसैले राम्रो ब्याज पाइने भन्दै उनै मिनासँग ०७० चैततिर चिनजान गराइदियो । मिनाले आफू सम्पन्न परिवारकी बुहारी भएको, छोराले पनि राम्रो कमाइ गर्ने बाटो खुलेको भन्दै जतिबेला पनि लगेको ऋण चुक्ता गर्ने भन्दै मासिक ५ प्रतिशत ब्याज दिने सहमतिमा सुमनसँग सुरुमा २० लाख रुपैयाँ लगिन् । सुमनले जमानी बसेर आफ्नै देउरानी इन्दिरा श्रेष्ठको २० लाख रुपैयाँ मिनालाई दिइन् । सुमनले बुझाएको ४० लाख रुपैयाँबाट जब ब्याज पाउने समय आयो, मिना सम्पर्कमा आउन छाडिन् ।

‘बरु साँवा रकम मात्रै दिनुस् भन्दाभन्दै उहाँ भाग्दै हिँड्नु भयो, अहिले मेरो एक्लो कमाइको पैसाले ब्याज तिर्न ठिक्क हुन्छ, साह्रै पीडा भएको छ,’ उनले भनिन् । श्रीमान् बितिसकेकाले घरको सम्पूर्ण आर्थिक भार आफूले सम्हाल्नु परेको र ऋण तिर्नकै लागि छोरालाई विदेश पठाएको दुःखेसो पोखिन् । नेपालगञ्ज–५ निवासी लक्ष्मी कार्की, गोसाई गाउँ निवासी उर्मिला श्रेष्ठ, बुलबुलियाकी सुशीला पौडेललगायत थुप्रै महिला र पुरुषको रकम धेरै ब्याजको प्रलोभनमा पारेर मिनादेवीले फुत्काएको खुल्यो । उनीहरुको दाबी अनुसार लक्ष्मीसँग ६३ लाख, उर्मिलासँग १५ लाख र सुशीलासँग ५५ लाख रुपैयाँ लिएर मिना फरार छिन् । ‘छोरालाई विदेश पठाउनु छ भन्दै हामीहरुसँग मिनाले पैसा लिएको हो,’ पीडितहरुले भने, ‘मासिक पाँच प्रतिशत ब्याज दिने सहमति भएको थियो, अहिले न ब्याज आयो, न त साँवा नै आयो ।’

श्रीमान्ले डिभोर्स गर्ने धम्की
मिनासँग रकम फसाएका अधिकांश महिलाले कारोबारको विषय आफ्ना परिवारका सदस्य र श्रीमान्सँग लुकाएका थिए । अहिले पोल खुलेपछि पारिवारिक कलह बढेको छ । कारोबारका विषयमा जानकारी नदिन मिनाले नै आफूहरुलाई बारम्बार सजग गराएको उनीहरुको दाबी छ । कतिपय महिलाले श्रीमान्ले डिभोर्स गर्ने धम्कीसमेत दिने गरेको बताउँछन् । ‘पैसा डुबाएको निहुँमा श्रीमान्ले डिभोर्स गर्ने धम्की दिन्छन्, घरमा बस्नै नसकिने अवस्था भइसक्यो, प्रहरी कहाँ उजुरी गर्दा पनि वास्ता गर्दैन, हामीले कहाँ गएर न्याय पाउने रु,’ सुशीलाले भनिन् । मिनाले कतिपयलाई कागज गरी सहिछाप गरेकी छन् भने केहीलाई ‘बाउन्स चेक’ थमाएकी छन् । पैसा लिँदा मिनाले मासिक ५ देखि २० प्रतिशतसम्म ब्याज दिने आश्वासन दिएकी थिइन् । कानुन त चर्को ब्याजदरमा पैसा लगाउन पाइँदैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मिनाविरुद्ध एकजनाले मात्र उजुरी गरेका छन् । कार्यालयका मुद्दा शाखा इन्चार्ज प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार नेपालगञ्ज–८ निवासी रेखा गुप्ताले मिनाविरुद्ध ठगीको जाहेरी दर्ता गराएकी छिन् । गत साउन ९ गते मिनाले १० लाख रुपैयाँ आफूलाई ठगेको रेखाले निवेदनमा उल्लेख गरेकी छन् । ‘रेखा गुप्ताको निवेदन प्राप्त हुनेबित्तिकै मिनादेवी सिजापतिलाई खोज्न सुरु गरेका हौं, तर उनी फेला परेकी छैनन्,’ बिष्टले भने । ठगीका यस्ता मुद्दा दिनहुँजसो आउने गरेको जिप्रकाले जनाएको छ । –शुक्रबार साप्ताहिकबाट