चैत १६,
काठमाडौं । भूकम्पपछि भत्किएको धरहरा निर्माण गर्न माग गर्दै बिहीबार ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानीय संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ‘मेरो धरहरा मै बनाउँछु’ अभियानलाई सफल पार्दै निर्माणका लागि ज्ञापनपत्र बुझाइएको संयोजक वेदप्रकाश गौतमले जानकारी दिए। उनीहरूले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव युवराज दाहाललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा राष्ट्रिय सम्पदा धरहरा वरिपरि अन्य कुनै व्यापारिक भवन निर्माण गर्न नहुने र उक्त स्थललाई पर्यटकीयस्थल बनाइनुपर्ने माग पनि समावेश गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीका स्वकीय सचिव दाहालले ऐतिहासिक धरोहर बनाउने स्थानीयको कार्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउने बताए। धरहरा तत्काल बन्नुपर्ने माग गर्दै समितिले यही चैत ३ देखि ९ गतेसम्म हस्ताक्षर संकलन गरेको थियो।