डाक्टरहरूले स्थानीय भाषामा कुरा गर्न थालेपछि सहज बन्दै उपचार

190

चैत १६,
डोटी । दिपायल सिलगढी नगरपालिका–७ का गम्भीर बोहरालाई उच्च रक्तचापको समस्या भएपछि बुहारी शकुन्तलाले सोमबार उपचारका लागि जिल्ला अस्पताल सिलगढी ल्याइन्। डाक्टर गिरीश अवस्थीले जाँच गरे र शकुन्तलालाई डोटेली भाषामा ससुरामा भएको समस्या बताए। शकुन्तलाले डाक्टरलाई एकपछि अर्को प्रश्न सोध्दै गइन्। डाक्टरले जवाफ दिँदै गए। जिल्ला अस्पताल डोटीमा डाक्टरले बिरामीसँग डोटेली भाषा प्रयोग गर्दा बिरामीले सहजै प्रश्नउत्तर गर्ने गरेका छन्। डाक्टरले डोटेली भाषामा सम्झाउँदा बिरामीको उपचारमा सहजता आएको छ। पूर्वीचौकी गाउँपालिका –१ खिरसैनका शान्ति खड्काले भनिन् ‘अरु ठाउँमा जाँदा डाक्टरले बोल्ने भाषा बुझ्नै मुस्किल हुन्थ्यो।यी डाक्टर साुबले भन्दा त आफ्नै घरका मान्छेले भनेजस्तो लाग्छ, हाम्रोजस्तै कुरा गर्छन्।’ बैतडी शंकरपुर घर भएका डाक्टर अवस्थी डोटीमा बसेर अध्ययन गरेका कारण डोटेली भाषाको विषयमा राम्रो जानकारी राख्छन्। अर्का डाक्टर दिपायल सिलगढी नगरपालिका–६ पुन्ना घर भएका घनश्याम भट्ट पनि डोटेली भाषा नै प्रयोग गर्छन्। डोटेली भाषामा कुरा गर्दा समस्या बुझ्न सजिलो हुने डाक्टर गिरीश अवस्थीले बताए। ‘गाउँ–गाउँबाट आएका मान्छेहरु हुन्छन्, हामीलाई डोटेली भाषा बुझ्दैन भन्ने ठान्छन्ु, उनी भन्छन्, ुनेपाली र डोटेली भाषा मिसाउँदै नेपाली बोल्ने प्रयास गर्छन, त्यसपछि भन्न खोजेको कुरा बुझिँदैन।’ नेपाली र डोटेली भाषाको तालमेल नहुँदा बिरामीले भन्न खाजेको कुरा सहजै बुझ्न समस्या हुने गरेको डाक्टरहरुको अनुभव छ। प्राविधिक शब्द सक्दो कम प्रयोग गर्ने तर्फ आफुहरु लागेको डाक्टर घनश्याम भट्टले बताए। ‘बिरामीको सहजताका लागी सक्दो प्राविधिक शब्दलाई सरलीकरण गर्ने गरेका छौैँ’, उनले थपे ‘यहाँको जनजीवन हेरेर डोटेली भाषाको प्रयोग गरेका हौँ।’ डाक्टरको डोटेली भाषा प्रयोग गर्दा ग्रामीण क्षेत्रका महिला बढी सहजता आएको सायल गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंहले बताइन्। सिंहले भनिन् ‘ग्रामीण क्षेत्रका महिलाले डोटेली भाषा नै बुझ्छन्। स्थानीय भाषाको प्रयोगले महिला बढी लाभान्वित भएका छन्।’ भाषा नबुझ्दा झगडा डोटेली र नेपाली भाषा सुन्दा उस्ता उस्तै लागेपनि केही शब्दको अर्थ भने अन्यथा लाग्ने गर्दछ। जिल्ला अस्पतालमा भाषाबाट उत्पन्न भएको विवादले करिब एक महिना अस्पताल ठप्प भयो। मधेशी मूलका डाक्टर जितेन्द्र सिंह र महिलाले एक अर्काको भाषाप्रति बुझाइ गलत राख्दा विवादले उग्ररूप लिएको थियो। ‘सुरुवाती समस्या भाषाले नै गरेको होु, मानव अधिकारकर्मी रामहरि ओझाले भने, ुभाषाबारे सामान्य जानकारी नहुँदा त्यस्ता धेरै विवाद उत्पन्न भएका छन्।’