रसुवा जाने पर्यटकहरू बढे

375

कान्तिपुर दैनिक
फाल्गुन २८,
रसुवा । पर्यटकीय मौसम सुरु भएसँगै लाङटाङ क्षेत्र घुम्न आउने विदेशी पर्यटकको संख्या बढेको छ । पर्यटकको वृद्धिसँगै लाङटाङ क्षेत्रमा चहलपहल सुरु भएको छ । जाडो सकिएको र गर्मी मौसम सुरु भएकाले लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम बढेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार धुन्चे चेक प्वाइन्ट हुँदै दैनिक ४० भन्दा बढी पर्यटक निकुञ्ज क्षेत्र प्रवेश गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको फागुन २६ गते सम्ममा ९ हजार ४ सय ९९ पर्यटक निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् ।’ भूकम्प जानुभन्दा अगाडि वार्षिक १५ हजार भन्दा बढी पर्यटकहरूले लाङटाङ क्षेत्र भ्रमण गरेका थिए ।
भूकम्पले शून्य बनाएको जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा भत्किएका पदमार्ग सुधार र होटलको पुनर्निर्माण भइसकेकोछ । भूकम्पपछि पदमार्ग सुधार र होटलको पुनर्निर्माण भएसँगै घुम्न आउने पयटर्कको संख्यामा क्रमशस् वृद्धि हुँदै गएको छ । काठमाडौंबाट लाङटाङ क्षेत्र छोटो पदमार्ग भएकाले पनि घुम्नका लागि बर्सेनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्छ ।
पर्यटकको सुविधाका लागि लाङटाङ क्षेत्रमा तीन वटा पदमार्ग छन् । धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेंसी हुँदै लाङटाङ, क्याङजिन र तामाङ सम्पदा मार्गको स्याफ्रुबेंसीदेखि गोल्जङ, गतलाङ,चिलिमे थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुसम्मको पदमार्ग छ । गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत गोसाइँकुण्ड, तामाङ सम्पदा मार्गभित्र रहेको तामाङ कला र संस्कृति, लगायतका विभिन्न क्षेत्रको अवलोकन गर्न पर्यटक आउने गर्छन् । पछिल्लो समय लाङटाङ घुम्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । लाङटाङ क्षेत्रमा खासगरी अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत २४ भन्दा बढी देशका पर्यटक आउँछन् ।