बालुवा–गिट्टी उत्खननः ५ मिटर भासियो आग्रा खोला

361

कान्तिपुर दैनिक
फाल्गुन २९,
धादिङ । थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट २०३० सालदेखि लगातार ढुंगा–गिट्टी र बालुवा दोहन भइरहेको छ । ४४ वर्षसम्म एउटै खोला लगातार दोहन गरिँदा त्यसको सतह करिब ५ मिटर भासिएको छ ।
पृथ्वीराजमार्ग कालोपत्रेको जिम्मा लिएको तत्कालीन चिनियाँ कम्पनीले यहाँको कालो ढुंगाको गिट्टीलाई गुणस्तरीय भएको प्रमाणित गरेपछि दोहनको शृंखला सुरु भएको थियो । अहिले पनि रोकिनुको साटो झनै बढेको छ ।
‘राजमार्ग कालोपत्रे गर्न २०२९ मा यहाँ आएका २८ जिल्लाका मजदुरमध्ये अधिकांशले ३ पुस्ता यतै गुजारे,’ स्थानीय रामचन्द्र रूपाखेतीले भने । त्यतिबेला गिट्टी कुटने स्वचालित विद्युतीय उपकरण थिएनन् । मजदुरका परिवार हातैले कुट्थे । ठेकेदारले संकलन गरी राजधानी निर्यात गर्थे । ‘यो चलन अझै पनि छ, दैनिक ५ हजार मजदुर ढुंगा संकलन गरी ट्याक्टरलाई बेच्ने र गिट्टी कुट्ने काममा संलग्न छन्,’ रूपाखेतीले भने ।
जुँगे खोलास्थित क्रसर व्यवसायी हरि काप्रीका अनुसार राजमार्ग कालोपत्रे सकिए पनि आग्रा खोलाको कालो गिट्टीले राजधानीसम्म चर्चा पायो । गजुरी बेल्खुको बालुवा र आग्रा खोलाको कालो गिट्टीको माग हात्तै बढेपछि मजदुरहरूले पनि आग्रा खोला छोड्न सकेनन् । राजधानीमा घर निर्माण गर्न गिट्टीको माग बढेपछि तत्कालीन जिल्ला विकास समितिले २०५० सालमै वातावरण प्रभाव मूल्यांकन गराई दैनिक २ सय ५० घनमिटर ९करिब ६३ ट्याक्टर० मात्रै ढुंगा–गिट्टी र बालुवा निकासी गर्न अनुमति दिएको थियो । तर उक्त मापदण्डको अवज्ञा गर्दै दैनिक ३ सय
ट्याक्टरले कम्तीमा ४ हजार ८ सय घनमिटर ढुंगा, गिट्टी निकालेर क्रसरलाई बेच्ने गरेका छन् ।