Monday, September 21, 2026
Home पर्यटन कैलाली भ्रमण वर्ष शनिबारदेखि

कैलाली भ्रमण वर्ष शनिबारदेखि

957

बैशाख २१,
धनगढी । कैलाली जिल्लालाई समृद्धितर्फ लैजानका प्रचारप्रसार गर्न ‘कैलाली भ्रमण वर्ष–२०७५’ शनिबारदेखि शुरु हुँदैछ ।
‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ मूल नाराका साथ भ्रमण वर्षको चिसापानीमा उद्घाटन हुनेछ । कैलाली जिल्ला प्रदेश नं ७ को प्रमुख व्यापारिक तथा शैक्षिक केन्द्र मात्र नभई समग्र प्रदेशकै प्रतिनिधि एवं प्रचूर आर्थिक सम्भावना बोकेको जिल्ला भएको सबैलाई परिचय गराउनका लागि महोत्सव गर्न लागिएको सांसद झपट रावलले जानकारी दिनुभयो । सांसद नारदमुनि रानाले कैलालीको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार गर्नका लागि भ्रमण आयोजना गरिएको बताउनुभयो ।
भ्रमण वर्षमा जिल्लाका पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक एवं दुर्लभ वन्यजन्तुको बासस्थलको अवलोकन गराइनेछ । जिल्लामा चिसापानी क्षेत्र, कर्णाली पुल, राजकाँडा, टीकापुर बृहत् उद्यान, घोडाघोडी ताल, डल्फिन संरक्षण तथा प्रजजन केन्द्र, वसन्ता जैविक मार्ग, खानीडाँडाजस्ता रमणीय–दर्शनीयस्थल तथा गोदावरी धाम, शिवपुरी उत्तर रामेश्वरम धाम, बेहडाबाबा, मोहन्याल क्षेत्र, बर्दगोरिया धाम, त्रिवेणी धामजस्ता धार्मिकस्थल छन् । यस्तै गर्भा दरबार, टीकापुर बंगलाजस्ता ऐतिहासिक धरोहर र थारु घरबास, विविध कला, भाषा, संस्कृति, वेशभूषा, चालचलन एवं जल, जंगल, जमीनजस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदाको बाहुल्य पनि छ ।