कविताः ए सरकार

538
लेखकः राजकुमार लामिछाने

-राजकुमार लामिछाने
चिलाइरहेको थियो
हो बेस्सरी चिलाइरहेको थियो
खप्न गारो आफै भेट्न सारो
छटपटाहाटको बढ्दै थ्यो पारो
म चिच्याइरहेको थिए
‎उ आयो हो उ आयो
धेरै पछि उ आयो कन्याइदियो
म शान्त भए
हो म शान्त भए
तर लुतो थियो त्यो लुतो ठिक भाको छैन
ए सरकार ए मेरो प्रगतिशील सरकार
अब मलाइ कन्याउने काम मात्र नगरेस है।

म कापिरहेको धेर भो
पेटिको बेड नापिरहेको धेर भो
कमिजका आँखाले चियाहेको पनि धेर भो
तिम्रो राजधानीले हियाएको पनि धेर भो
जमिन ओछ्याएर आकाश ओढेको पनि धेर भो
भुँडी भर्न फोहोरको थुप्रो गोडेको पनि धेर भो
सुने शुखी नेपाली समृद्ध नेपालको अभियान सुरु गर्दैछौ रे
ए सरकार मेरो प्रगतिशील सरकार
अब पनि नारा र उहीँ पुरानै पारा नदेखाएस है।

जुन बाल्दै गर्दा बादलले लोडसेडिङ गरेको
शान्ती ल्याउन क्रान्ती
क्रान्ती ल्याउन युद्ध
अनि त्यही युद्धमा बुद्धले बसाइ सरेको
‎ गरिबी फाल्ने आमालाइ पाल्ने,
‎ सपना बोकेर
‎जुठे सदरमुकाम झरेको
‎सांढेको भिडन्तमा बाछो परेको
‎जब गयो जुठेको सास,
‎गाउँ आफै चिता भो
‎न्याय त्यस माथिको लास
‎अझै जुठे आउछकी
‎छैन ती आमाको आस मरेको
‎ए सरकार मेरो प्रगतिशिल सरकार
‎कुर्शिमा बुर्कुशी मार्दै गर्दा जुठेको आत्मा नमारेस है ।

सुदुरका कुनै एक शेर शिंहदरवार छिरे होलान
कुनै एक रामले पद वरण गर्दै तक्मा भिरे होलान
चितवनका कुनै एक कमल पुस्पकमल भै फुले होलान
इलामको नि एक झलनाथ बिचार चेतमा झुले होलान
झापाको एक खड्क आज पाइन लाएर चम्के होलान
गोरखाको एक बाबू धेरै अघि लम्के होलान
तर मेरो देश ?
तर मेरो देश सुदुरमा नि छिर्छ कहिले
मेरो देशले बिकसित मुलुकको तक्मा भिर्छ कहिले
मेरो देश विश्व मानचित्रमा फुल्छ कहिले
मेरो देश समृद्धिको झुलनमा झुल्छ कहिले
मेरो देश त्यो तारा झै चम्किन्छ कहिले
मेरो देश सगरमाथा झै उचाइमा लम्किन्छ कहिले
ए सरकार मेरो प्रगतिशिल सरकार
मेरो छोराले यो प्रश्न सोध्न नपरोस है ।
चाँगुनारायण- ६, भक्तपुर ।