कविता : पीडाको पर्खाइ

185

-भुवन सिवाकोटी “चौघरे”

थाम्दाथाम्दै
मन थाम्न नसकेपछि
कुँढेबाट उम्लिएको दुध पोखिए जसरी
परेली डिलबाट खस्नेहरू खसे
हृदयले आगो लगाइरह्यो
तर जलन शान्त भएन

केहि नुनिला थोपाहरू विस्तारै खसे
जसलाई हतार थियो
हतारिदै खसे
पर हुन खोज्नेलाई
हृदयमा रोकेर राख्न सकिन

जब
भुईं खसेका अश्रुफूललाई नियालेँ
आफैँलाई
आफ्नै मनले अनगिन्ती प्रश्न गर्यो
केही सजिला उत्तर थिए
केहीको प्रश्नको जवाफ नै थिएन

अव्यक्त पीडा साउती गर्दै थियो
झलमल घाम छ
केहि समयपछि
भुईंमा झरेको चिसो सुक्दा
आँखाको चिसो पनि सुक्नेछ
त्यसपछि
न त झरेको आँशु हुनेछ
न त सुक्दै गरेको आँशु देखेर
मन तड्पिनेछ
जति सक्छौ अहिल्यै मन बगाऊ

अर्को मनले सुस्केरा हाल्दै सुनायो
फर्किने छैनन यि आँसुहरु
तर फर्कने छन् बल्झिएर पीडाहरू
पीडा मुक्त हुन सिक

तर
भुईंमा थामिएको आँसुबाट
टाढा सर्न सक्दै सकेनन् आँखा
कुरिरहेछन
आँसु नसुकुन्जेल कुरीरहेछन्

अन्तत:
मैले अन्तिम प्रश्न गरें
संझेपछि नहेरि बस्न सक्दिन म
फेरी पीडादिन
आर्तनाद गरेर कहिले आउछ्यौ तिमी

प्रतिउत्तर थिएन
जति कुरे पनि नफर्कने बाटोमा
थाहा छ म एक्लै थिएँ
हो, मोतिपुष्प खसेपछि सुक्छन
जसको कुनै मुल्य छैन
तैपनि मान्दैन मन !

-परिक्षक भुवन सिवाकाेटीको फेसवुकवाट