को हुन् नेपालका नयाँ प्रधानमन्त्री ओली ?

272

नयाँ नेपाल न्युज
फागुन ३,
काठमाडौं । नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् । ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डसहितका नेताले ओलीको प्रधानमन्त्रीको दावी राष्ट्रपतिसमक्ष पेश गरेका थिए । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले एमालेका लालबावु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापा मगरलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीद्वयले राष्ट्रपति विद्या भण्डारीसमक्ष बिहीबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पण्डित यसअघि सामान्य प्रशासनमन्त्री बनिसकेका व्यक्ति हुन् । पहिलो पटक ३८ औं र अहिले दोस्रो पकट नेपालको ४१ औं प्रधानमन्त्री भएका ओली वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । उनी डेढ वर्षको हुँदा आमाको निधन भएको समकालीन एमाले नेताहरु बताउँछन् । उनी ४÷५ वर्षको हुँदा उनका पिता मोहनप्रसाद ओली बालबच्चा लिएर झापाको सुरुङ्गामा बसाइँ झरे । पछि कन्काइको बाढीले ओली परिवारको घर बगाइदिएपछि उनीहरु सुकुम्बासीमा परिणत भए । ओलीलाई केही समय बडाबा र हजुरबाहरुले पाले । किशोरावस्थामा ओली रामनाथ दाहालका घरमा काम गरेर विद्यालय जान थाले । उनको १० कक्षासम्मको औपचारिक शिक्षा झापामै गरेका थिए । ओलीको शैक्षिक योग्यता सामान्य रहे पनि उनमा बाहिरी ज्ञान उच्च शिक्षा लिनेको भन्दा कम छैन । भाषा साहित्यमा उनको दख्खल राम्रो देखिन्छ । संसद सचिवालयको रेडर्कमा ओलीको शैक्षिक योग्यता ‘अनररी पीएचडी’ लेखिएको छ । झापा झरेका र वाल्यकालमै आमाको मातृवात्सल्यबाट विमुख बनेका ओली रामनाथ दाहालका घरमा बसेर पढ्ने क्रममा रामनाथकै प्रेरणाले कलिलो उमेरमै कम्युनिष्ट बने । रामनाथ दाहाल ०२९ सालमा सुखानीमा शहीद भए । गरिवीका कारण अरुको काम गरेर बस्न बाध्य बनेका ओली ०२३ सालमा माक्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका हुन् । ओली ०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा पुगे । ०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख बनेका ओली ०४७ जेठ १ गते युवा संघको संस्थापक अध्यक्ष बने । ०४९ देखि एमालेको स्थायी कमिटी सदस्य भए । तत्कालीन नेकपा माले गठनदेखि ०४६ सम्म आइपुग्दा भएको राजनीतिक उतार(चढावमा ओलीले संगठनात्मक भूमिका खेल्न पाएनन् । किनभने उनी ०३२ सालदेखि ०४६ सालमा बहुदल आउँदासम्म लगभग १४ वर्ष जेलमै थिए । ओलीको उमेरको उर्जाशील समय जेलभित्रै बित्यो भन्दा पनि फरक पर्दैन । वि.सं ०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित भएका ओली ०५१ मा पुनः सोही क्षेत्रबाट निर्वाचित भए । एमालेको ९ महिने सरकारमा ओली नेपालको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बनेका थिए । ०५६ सालको आम निर्वाचनमा झापा २ र ६ बाट सांसद जितेका ओली ०६४ मा भने झापाकै सोही क्षेत्रमा माओवादीका सामान्य कार्यकर्ता विश्वदीप लिङदेनबाट पराजित भए । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पुनः भारी मतका साथ जितेका थिए । ओलीले गृहमन्त्री र पराराष्ट्रमन्त्रीका रुपमा राजकीय जिम्मेवारी दुईपटक मात्र सम्हाले र दुबैपटक विवादमा परेनन् । ०५१ मा गृहमन्त्री बनेका ओली २०६२÷६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भएका थिए । पाटन निवासी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका आफ्ना छोराछोरी छैनन् । भक्तपुरको बालकोट र झापाको दमकमा घर भएका ओलीले जीवनको उत्तरार्धमा परिवारका सदस्यका लागि पैसा र पदको दायित्व बोक्नुपर्ने स्थिति छैन । सुरुङ्गामा बाढीले घरजग्गा बगाएपछि झापाको पृथ्वीनगरमा बसाइँ सरेका ओलीका पिताले सामान्य किसानले जस्तै अनेक भुक्तमान भोग्नुपरेको थियो । गरीबी अवस्थामा वाल्यकाल बिताए पनि ओलीले राजनीतिक यात्राकै क्रममा दमक र भक्तपुरको बालकोटस्थित सूर्यविनायक नरगपालिका २ मा घर बनाएका छन् । प्रचण्डले जस्तो डेरा भाडा तिरेर बस्नुपर्ने अवस्था उनको छैन । बुधबार मात्रै निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक नतिजा राष्ट्रपतिलाई बुझाएको थियो । आयोगले नतिजा बुझाएलगत्तै दलहरु नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।