कविता ; गरिबी

760

-चन्द्र एम. वि. ‘अविरल’
जब खाना खांदै गर्दा
तेरो कमाइ…..? सवाल हुन्छ,
हात एकदमले स्थिर हुन्छ
आँखा भुइँ तिर हेरिहन्छन्
यी गलाले गरिबी स्विकार गर्छ
मनले भाग्य लाई धिक्कार्छु ।
साथी संग बस्दै गर्दा
खाजा खाँउ….? प्रश्न गर्छ
हातले पेट छाम्ने बहाना बनाउँदै
साथीले थाहा नपाउने गरि
खल्ती छाम्छु र बहाना मा
नखाउ यार मन छैन भन्दै गर्दा,
दिमागले गरिबी स्विकार गर्छ
र मनले यी रित्ता गोजीहरुलाई धिक्कार्छु।

हिजो देखेका आफ्ना सपना
जब कागजमा लेख्ने मन हुन्छ
कागज र कलम खरिद गर्न
पैसा अभाव महसुस हुन्छ
गरिबी स्विकार गर्छु र
मनले मनलाई धिक्कार्छु।

प्रेम सम्बन्ध विस्तार हुनै लाग्दा
प्रेमिकाले हाम्रो भविष्य जागिर
सोध्छिन् म शिर झुकाउँछु
जिन्दगीको लामो यात्रा सम्झन्छु
आफ्नो गरिबी स्विकार गर्छु
र अभावले थिचिएको समयलाई धिक्कार्छु।

अब बाँच्नु काे अर्थ लाग्दैन
जिन्दगी जिउने आधार देख्दिँन
गरिबी ले थिचिएको सोचले
अनि पसलेलाई डोरी माग्छु
उसले मलाई डोरीको पैसा माग्छ
हो ठ्याक्कै त्यतिबेला मैले
मर्नको लागि पनि पैसा चाहिन्छ
भने थाहा पाएपछि
साँच्चै गरिबी स्विकार गर्छु र
जिन्दगी लाई धिक्कार्छु।

फिदिम- १ पाँचथर