मन्त्री छान्न यसरी अममलमा पर्दै छ माओवादी

105

फागुन १३,
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १० दिन बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। एमाले र माओवादी केन्द्रले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन नसक्दा हालसम्म सरकार विस्तार हुन नसकेको हो। प्रधानमन्त्रीसहित १८ मन्त्रालय कायम गरिएको सरकारमा एमालेबाट प्रधामन्त्री ओलीसहित ३ जना मन्त्रालयमा गएका छन्। तर, अन्य मन्त्रालयमा भने अझै पनि यी दुई पार्टीले मन्त्रीको टुंगो लगाउन सकेका छैनन्। गृहमन्त्रालयसहित ७ जना मन्त्री पाएको माओवादी केन्द्रले आन्तरिक विवादका कारण अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन। माओवादीमा गृहमन्त्रालय कसले पाउने भन्ने विवाद छ। पार्टीका केन्द्रीय कार्यालय सदस्यले ३ शीर्ष नेतालाई जिम्मा मन्त्री छान्ने जिम्मा दिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठनेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई मन्त्री छान्ने जिम्मा दिएका हुन्। उनीहरूले मन्त्री छान्दा ७ वटै प्रदेशबाट प्रतिनिधित्व हुनुपर्ने, अनुभवी र नयाँलाई पनि समेट्नुपर्नेलगायत मापदण्ड राखेका छन्। तर शीर्ष नेताले मन्त्रीको टुंगो लगाउन नसक्दा आइतबार पनि मन्त्रिपरिषद्को विस्तार नहुने सम्भावना रहेको छ। शीर्ष नेताले अझै पनि मन्त्रीको टुंगो लगाउन सकेका छैनन्। माओवादीका एक केन्द्रीय कार्यालय सदस्यका अनुसार अन्यमन्त्रालयमा कुरा मिले पनि गृहमन्त्रलयमा कुरा नमिल्दा माओवादीले अन्तिम टुंगो लगाउन नसकेको हो। रामबहादुर थापाले आफूले सरकारको नेतृत्वसँगै गृहमन्त्रालय पनि पाउनुपर्ने दाबी नछाडेकाले मिलाउन समस्या भएको ती नेताले जानकारी दिए। उनका अनुसार प्रचण्डका नजिक मानिएका वर्षमान पुन र जनर्दन शर्माले पनि गहृमन्त्रीमा दाबी गरेका छन्। उनीहरू आफ्नो दाबीबाट पछि नहटेपछि सरकारमा जाने मन्त्रीको टुंगो लाग्न नसकेको हो। अध्यक्ष प्रचण्ड भने पुनलाई गृहमन्त्री बनाउने पक्षमा रहेको ती नेताले बताए। तर, पुन भने आफ्नी श्रीमती ओनसरी घर्तीलाई पुनः सभामुखमा दोहोर्‍याएमा छाड्ने मनस्थितिमा रहेको ती नेताले बताए। यस्तै, पार्टीभित्र केही नेताले थापाले सरकारको नेतृत्व गरेपछि गृह दिन नहुने मत राख्दै आएका छन् भने केहीले अनुभव र सिनियरका आधारमा पनि थापालाई गृहमन्त्री बनाउनु पर्ने मत राख्दै आएका छन्। आर्का एक कार्यालय सदस्यले भने माओवादीमा गृहमन्त्रीको मात्र टुंगो नलागेको तर त्यो पनि चाँडै लाग्ने बताए। उनले भने, ‘हाम्रो लगभग अन्य मन्त्रालयमा त टुंगो लागेकै छ। तर, गृहमा चाहिँ केही समस्या भएकै हो। त्यो पनि हामी मिलाउँछौँ। एमालेले ढिला गरेका कारणले सरकार विस्तारमा ढिलाइ भएको हो।’ तर, पार्टी प्रवक्ता पम्फा भुसालले भने मन्त्री छनोटमा कुनै विवाद नरहेको बताइन्। उनले सोमबारसम्म माओवादीबाट मन्त्रीको टुंगो लाग्ने जानकारी दिइन्। उनले भनिन्,‘अध्यक्ष चितवन जानुभएको छ। त्यसैले छलफल हुन सकेको छैन। तर उहाँ आज आउनुहुन्छ। त्यसपछि भोलि सबै टुंगो लाग्छ। मन्त्री छनोटमा कुनै विवाद छैन। ३ जना शीर्ष नेताले सबै मिलाउनुहुन्छ।’ सभामुखमा ४ आकांक्षी एमालेसँगको सहकार्यमा माओवादीले सभामुख पाएको छ। सभामुख बन्नका लागि माओवादीबाट ४ जनाले आकांक्षा राखेको माओवादी स्रोतले जानकारी दियो। स्रोतका अनुसार सभामुखमा ओनसरी घर्तीले पुनः दोहोरिने आकांक्षा राखेकी छन्। यस्तै, माओवादीका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि आकांक्षा राखेका छन्। यसैगरी पार्टी नेता देव गुरुङ र गिरिराजमणि पोखरेलले समेत आकांक्षा राखेका छन्। तर, पार्टीभित्र भने महरालाई सभामुख बनाउनुपर्ने मत रहेको एक नेताले जानकारी दिए। साभारः थाहाखबरबाट