पर्वतारोही आङरिता शेर्पाको उपचारमा आर्थिक समस्या, परिवारले माग्यो सहयोग

547

चैत २७,
काठमाडौं । पर्वतारोही आङरिता शेर्पा जीवनको कठिन अवस्थामा पुगेका छन् । सिकिस्त बिरामी परेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका हिम चितुवालाई कुन रोगले थलाएको हो भन्ने चिकित्सकहरुले अझै ठम्याउन सकेका छैनन् ।
दश पटक भन्दा बढी विना अक्सिजन सगरमाथा आरोहण गरेका साहसी आरोही शेर्पा ७० वर्षको उमेरमा थलिएका हुन् ।
विश्वकै सबैभन्दा छिटो आरोहीको कीर्तिमान कायम गरेका पेम्बा दोर्जे शेर्पाका अनुसार चार दिनदेखि न्यूरो अस्पतालको आइसियुमा मृत्युसँग संघर्ष गरिरहेका आङरिताको परिवार उनको उपचार गर्ने हैसियतमा छैन । पेम्वाले नै अहिले आङरिताको उपचारको समन्वय गरिरहेका छन् ।
केही वर्षअघिमात्रै जेठा छोराको निधनपछि आङरिताले पुत्रवियोग झेलेका थिए । अहिले हिमचितुवाका कान्छा छोरा लान्दरुको पनि शुक्रवार मात्रै सगरमाथा आधार शिविरमा लडेर खुट्टा भाँचिएको छ । उनी नेपाल मेडिकल कलेज जोरपाटीमा उपचाररत छन् ।
साथमा भएको डेढ लाख रुपैयाँ सकिएपछि उनी अहिले बेवारिसे अवस्थामा अस्पतालमा रहेको पेम्बाले बताए । बुबाको उपचारमा सहयोगको याचना गर्दै छोरी डोल्मा ल्हमू शेर्पाले नेपाल पर्वतारोहण संघमा आइतवार निवेदन दिएकी छन् ।
विश्वमा नेपालको नाम राख्ने हिमचितुवाको उपचारमा राज्यले सहयोग गर्नुपर्ने स्पिड आरोही पेम्बाले बताए । अनलाइन खबरबाट