कहिले चकलेट त कहिले मिश्री दिएर बालिका बलात्कार

288

चैत २७,
धनुषा । बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी रहेको आरोपित दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो ।
घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितका बुबा वैदेशिक रोजगारमा गएको तथा बालिकाको पारिवारिक पृष्ठभूमि अतिनै विपन्न रहेको छ । आफूभन्दा कान्छी दुई बहिनीलाई लिएर आमा मजदुरीमा जाने गरेको बेला उनलाई फकाइफुलाइ बलात्कार गर्ने गरेको किटानी जाहेरीमा उल्लेख रहेको छ ।
उनलाई प्रलोभनमा आफ्नो घरमा बोलाइ सहदेवले यौनजन्य क्रियाकलाप गरेको र त्यसैगरी चलित्तर मण्डलले घरमै पसेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
कसैलाई केही जानकारी दिए ज्यान मार्ने धम्कीसमेत बालिकालाई दिएका आरोपीको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन् । तर उनको छिमेकी अर्को बालिकाले यी सबै घटना देखेपछि पीडितकी आमालाई सुनाएकी थिइन् ।
आफ्नो छोरीसँग यस्तो क्रियालाप गर्नेलाई कारबाहीको माग गर्दै गाउँमै कुरा उठाएकी पीडितकी आमालाई पहिला गाउँका पञ्च भनाउँदाले कुरा समाजमै मिलाउन दबाब दिएका थिए । तर, पछि पीडितकी आमा नमानेर प्रहरी कहाँ जाहेरी दिएको र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।
घटना भएको १४ दिनपछि प्रहरीसमक्ष उजुरी परेकाले त्यति बेला मेडिकल प्रमाणमा यौन दुव्र्यवहार भएको पाइए पनि बलात्कारका तथ्य जुटाउन गाह्रो भएको प्रहरी उपरीक्षक आचार्यले बताए ।
दुवै आरोपीविरुद्ध जबर्जस्ती करणीकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र आरोपित दुवै जना जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा लिएको छ ।