मिश्रले गरे स्वतन्त्र उम्मेदवारको लागि आव्हान

205

चैत ८, काठमाण्डौं ।
विविसी नेपाली सेवाको जागीर छोडि साझा पार्टी गठन गरेका रविन्द्र मिश्रले आफ्नो पार्टी दर्ता भइनसकेकोले स्थानीय तहमा स्वतन्त्र हैसियतमा चुनाव लड्न सुवेच्छुकहरुलाई आव्हान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै साझा पार्टी निर्वाचन आयोगमा दर्ता भई नसकेको र हाल स्थानीय तहको निर्वाचनका कारण दल दर्ता प्रकृया स्थगित भएकाले आउँदो स्थानीय निर्वाचनमा यस पार्टीले पार्टीगतरूपमा सहभागिता जनाउन सक्ने स्थिति नरहे पनिदेशभरी साझा पार्टीप्रति देखिएको उत्साहजनक लहर र तीन हप्ता पनि नबित्दै ठाउँठाउँमा बनेका दर्जनौँ एकाइहरूको चाहनालाई मध्यनजर राख्दै साझा पार्टीले स्थानीय तहको निर्वाचन स्वतन्त्र हैसियतमा सहभागि गराउने निर्णय गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ लामो अन्तरालपछि हुन गइरहेको स्थानीय निर्वाचन जनताको लोकतान्त्रिक अधिकारको अभ्यासका लागि मात्र नभई स्थानीय विकास र जनसेवाका कार्यलाई इमानदार र प्रभावकारीरूपमा अगाडि बढाउन स्थानीय नेतृत्व चयन गर्ने अवसर हो। तर स्थानीय स्तरमा देखिँदै आएको विकृत र गुटबन्दीयुक्त दलीय राजनीतिकरणका कारण समाजसेवाको इमानदार भावना बोकेका दलभित्र र बाहिरका कैयन् क्षमतावान व्यक्ति चुनावी राजनीतिमा किनारा लगाइएका छन्। त्यस्ता व्यक्तिहरू स्वतन्त्र उमेदवारको हैसियतमा स्थानीय निकायका विभिन्न तहमा उठ्दा उल्लेख्य जनसमर्थन पाउन सक्ने साझा पार्टीको बुझाइ छ।
त्यसैगरि साझा पार्टीका मूल्य-मान्यता (पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता) तथा आदर्श (सहभागितामूलक लोकतन्त्र र कल्याणकारी-उदारवादी अर्थतन्त्र) लाई प्रवर्द्धन गर्ने र आउँदो राष्ट्रिय निर्वाचनका लागि पार्टीको सङ्गठनात्मक आधार तयार पार्ने काम पनि हाम्रा सम्मुख छ। त्यसको पृष्ठभूमि तयार गर्नका लागि समेत हाम्रा मूल्य-मान्यतालाई अङ्गीकार गर्ने देशभरका नेपालीहरूलाई स्थानीय निकायमा विभिन्न तहमा उमेदवारी दिन र साझा पार्टीका एकाइ र समितिहरू निर्माण गर्न यो पार्टी आह्वान गर्दछ। साझा पार्टीको स्थानीय तहको विभिन्न स्तरमा नेतृत्व सम्हाल्ने सम्भावनाका बारेमा सोच बनाएका साथीहरूलाई ‘स्वतन्त्र’ उमेदवारी दिन हामी प्रोत्साहित गर्दछौँ।
विज्ञप्तिमा उल्लेख गरिएको छ ‘स्वतन्त्र’ उमेदवारी दिँदा पदीय जिम्मेवारीका लागि आवश्यक क्षमतामा सम्झौता नगरिकन समावेशितालाई प्राथमिकता दिन साझा पार्टी आफ्ना समर्थक र शुभेच्छुकहरूसँग आग्रह गर्दछ।
साझा पार्टीका मूल्य-मान्यता तथा आदर्शलाई आत्मसात र प्रवर्द्धन गर्ने कुनै नेपालीले स्थानीय स्तरमा सहमति जुटाई स्थानीय निर्वाचनको कुनै पनि तहमा ‘स्वतन्त्र’ उमेदवारी दिएको खण्डमा त्यस्ता उमेदवारलाई पार्टीले समर्थन गर्न सक्नेछ। तर हाल दर्ता भइसकेका दलहरूको तर्फबाट पार्टीगत उमेदवार बन्नेहरूका हकमा भने साझा पार्टीले कुनै किसिमको समर्थन जनाउने छैन।
स्थानीय निर्वाचनका क्रममा साझा पार्टीको पक्षमा सङ्गठित भएका समूहहरूलाई सङ्गठित नै रहिरहन साझा पार्टी हार्दिक अपील गर्दछ। किनभने,साझा पार्टीको औपचारिक सङ्गठन निर्माणको सिलसिलामा यस्ता समूहहरूको भूमिकालाई उच्च मूल्याङ्कन गरिनेछ।
पार्टी दर्ता भई नसकेकाले साझा पार्टी समर्थित उमेदवार भए पनि उनीहरूले साझा पार्टीको चुनाव चिह्न प्रयोग गर्न या साझा पार्टीको नाममा चन्दा उठाउन पाउने छैनन्। दर्ता नभएका कारण साझा पार्टीले पार्टीको नाममा चन्दा सङ्कलन गर्न नमिल्ने भएका कारण कुनै पनि उमेदवारलाई आर्थिक रूपमा सघाउन सक्ने स्थिति पनि छैन।