फेरि पनि विल गेट्स नै सर्वाधिक धनी, चौधरी १५६७ औं स्थानमा

300

८ चैत, काठमाडौं ।
यस वर्ष पनि विश्वको सर्वाधिक धनीमा विल गेट्स नै परेका छन् । सन् २०१७ का विश्वका अर्बपतिहरुको सूचि सार्वजनिक गर्दै फोर्ब्स म्यागेजिनले उनको कुल सम्पत्ती गर्त बर्षको ७५ अर्ब डलरबाट बढेर ८६ अर्ब डलर पुगेको जनाएको छ । यस वर्ष अर्बपतिहरुको संख्या १८ प्रतिशतले बढेर २ हजार ४३ जना पुगेको छ ।
चौधरी ग्रुपका अध्यक्ष चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १५६७ औं स्थानमा छन् । फोर्ब्सका अनुसार, उनको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी हो । सन् २०१५ मा पनि उनको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो । चौधरी पहिलो पटक २०१३ मा विश्वका अर्बपतिहरुको सूचीमा परेका थिए ।
१४.८ अर्ब डलरले आफ्नो सम्पत्ती बढाएर सेयर बादशाह वारेन बफेट दोस्रो नम्बरमा परेका छन् । उनको सम्पत्ती ७८.७ अर्ब डलर छ । उनले दोस्रो स्थान जाराका संस्थापक अमान्सीओ आर्टेगाबाट खोसेका हुन् ।
अमेजनका जेफ बेजोसले यो बर्ष सबैभन्दा ठूलो बाजी मारेका छन् । उनको सम्पत्ती २७.६ अर्ब डलरले बढेर ७२.८ अर्ब डलर पुगेको छ । उनी तेस्रो नम्बरमा परेका छन् ।
४.३ अर्ब डलरले आफ्नो सम्पत्ती बढाएका ओर्टेगा चौथो स्थानमा छन् । उनीसँग ७२ अर्ब डलरको सम्पत्ती छ ।
फेसबुकका संस्थापकले गत १२ महिनामा ११.४ अर्ब डलर सम्पत्ती थपेर ५८.६ अर्ब डलर पुर्याएका कारण पहिलो पटक पाँचौं स्थानमा उक्लेका छन् । कुनै बेलाका संसारकै सबैभन्दा धनी मेक्सिकोका कार्लोस हेलु छैंठौं स्थानमा झरेका छन् । गत १२ बर्षमा उनी पहिलोपटक पाँचौ स्थान भन्दा तल खसेका हुन् ।
यसपटक बिश्व अर्बपतिहरुमा १ सय ९५ जना नवप्रवेशीहरु छन् । यसमा सबैभन्दा बढी चीनबाट ७६ जना छन् । र, अमेरिकाबाट २५ जना थपिएका छन् ।