नयाँ नियमावलीअनुसार बुधबारबाट लाइसेन्स परीक्षा

184

नयाँ पत्रिका|
काठमाडौं – दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न लागेको हो । सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन भएपछि असोजको पहिलो सातादेखि देशभर परीक्षा रोकिएको थियो । नयाँ नियमावलीअनुसार सबै तयारी पूरा भएकाले परीक्षा सुचारु गर्न लागिएको विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए । ‘सफ्टवेयर अपडेट भएको छ,’ उनले भने, ‘अब देशभरि नै ८ गतेदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा सुरु हुन्छ ।’
यसअघि विभागको सफ्टवेयरमा एकपटक ट्रायल दिएपछि तीन महिनासम्म दिन नपाइने सिस्टम बनाइएको थियो । कसैले तीन महिना नपुगी परीक्षा दिन गए सफ्टवेयरबाट थाहा हुन्थ्यो । संशोधित नियमावलीले एकपटक लिखित परीक्षा उत्तीर्ण गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन सकिनेछ । ९० दिनभित्र जुनसुकै तीन दिन ट्रायल परीक्षा दिन पाउने गरी नियमावली संशोधन गरिएकाले सोहीअनुसार सफ्टवेयर अपडेट गरिएको छ ।
एकपटक असफल भएपछि तीन महिना कुर्नुपर्ने प्रावधानले समस्या भएकाले संशोधन गरिएको हो । पछिल्लो समय ट्रायल परीक्षामा आधाभन्दा धेरै अनुत्तीर्ण हुने गरेका छन् । नयाँ प्रावधानले परीक्षार्थीलाई फाइदा हुनेछ । तर, लिखित परीक्षामा नै अनुत्तीर्ण भएको खण्डमा भने अर्को परीक्षा दिन तीन महिना नै कुर्नुपर्ने डा। पाण्डेले बताए ।
उपत्यकामा गाडी र मोटरसाइकलको ८ गतेबाट सुरु हुने र उपत्यकाबाहिर पनि अञ्चल प्रहरी कार्यालयले केही दिनभित्रै सूचना जारी गरी परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ । विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउन लागेको छ । तीन महिनापछि सोही स्थानबाट ट्रायल परीक्षा सञ्चालनको तयारी भइरहेको छ । ट्रायलका लागि गुर्जुधारामा संरचना निर्माणको काम भइरहेको प्रवक्ता डा। पाण्डेले बताए । आजकोदैनिकमा खबर छ ।