पाँचखालमा २८ देशका सेनाको भेला हुदैं

281

काठमाडौं । शान्ति मिसन अन्तर्गत सहभागी रहेका थुप्रै मुलुकहरुमध्ये २८ मुलुकका सेनाले नेपालमा संयुक्त अभ्यास गर्ने भएका छन् ।
नेपाली सेनाको आयोजना र अमेरिकी सेनाको सहयोगमा पाँचखालस्थित तालिम केन्द्रमा ‘शान्ति प्रयास ३’ अन्तर्गत संयुक्त अभ्यास हुनेछ । अभ्यास चैत ७ गतेदेखि दुई सातासम्म सञ्चालन हुनेछ ।
नेपाली सेनाले तयार पारेको पाठ्यक्रममा रहेर २८ देशका १ हजार २४ देशका सेनाले संयुक्त अभ्यास गर्नेछन् । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका प्रमुख कर्णेल प्रयोग जंगबहादुर राणाका अनुसार, नेपाली सेनाले तेस्रो पटक यस्तो अभ्यासको आयोजना गर्न लागेको हो ।
संयुक्त अभ्यासका लागि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जापान, भारत, मेक्सिको, इण्डोनेसिया लगायत सबै मुलुकका सेना आइसकेका छन् ।
नेपाली सेनाले अमेरिकी सेनाकै सहयोगमा सन् २००० मा पहिलो पटक यस्तो अभ्यास आयोजना गर्दा नेपालसहित चार मुलुकका मात्र सेना सहभागी थिए । त्यसपछि २०१३ मा ‘शान्ति प्रयास २’ मा २३ वटा मुलुकको सहभागिता थियो । यो तेस्रो अभ्यासमा २८ मुलुकका सहभागी हुँदै छन् । नेपाली सेना सन् १९५८ बाट द्वन्द्वग्रस्त राष्ट्रहरुमा शान्ति स्थापनार्थ खटिँदै आएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति मिसनमा सैन्य स्तरबाट योगदान गर्ने नेपाल छैटौं ठूलो मुलुक हो ।
शान्ति मिसनमा जाने सेनाका जवानहरुले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा तालिम लिनुपर्ने हुन्छ । तर, अहिले सो तालिम केन्द्र नेपाली सेनाको लागि मात्रै होइन, शान्ति मिसनमा खटिने अन्य मुलुकका सेनाका लागि पनि तालिम गर्ने उपयुक्त ठाउँ बनेको छ ।