९ जिल्लामा राप्रपा र डोल्पामा कांग्रेसले स्थानीय निर्वाचनमा उठ्न नपाउने

292

चैत ६,
काठमाडौं । पार्टीको विधानबाट हिन्दु राज्य र राजतन्त्र हटाउने निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपालाई अर्को झड्का लागेको छ । उसले मोरङ, सिराहा, धनुषा, महोत्तरी, गोरखासहित ९ जिल्लामा चुनाव लड्न नपाउने भएको छ ।
यस्तै नेपाली कांग्रेसले डोल्पामा स्थानीय तहको चुनाव लड्न नपाउने भएको छ ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न पुस २५ देखि माघ १७ गतेसम्मको समय दिएको थियो । यस अवधिमा दलहरुले आफूले चुनाव लड्ने जिल्लाहरुमा दल दर्ता गर्नु पर्ने थियो ।
राप्रपा ९ जिल्लामा छुट्यो
राप्रपा भने ९ जिल्लामा दर्ता नभएको पाइएको छ । मोरङ, सिराहा, महोत्तरी, धनुषा, रसुवा, बारा, लमजुङ, गोरखा र डोल्पामा राप्रपा दर्ता भएको छैन । निर्वाचन आयोगले दिएको पुस २५ देखि माघ १७ भित्र दल दर्ता नगरेका राप्रपाले पछि दल दर्ता छुटेको भन्दै निवेदन दिएको थियो । तर, आयोगले माघ १७ भित्र दर्ता छुट भएका जिल्लाहरुमा समावेश नगर्ने निर्णय गरेको सचिव गोपी मैनालीले बताएका छन् ।
राप्रपाले जस्तै कांग्रेसले पनि म्यादभित्र डोल्पामा दल दर्ता गरेन । जिल्लामा जम्मा ६ दल मात्रै दर्ता भएका छन् ।
आयोगका अनुसार त्यहाँ एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चा र परिवार दल मात्र दर्ता भएका छन् ।
आयोगले दिएको समय सकिएपछि कांग्रेसले दल दर्ता छुटेको भन्दै निवेदन दिएको थियो । तर, आयोगले माघ १९ भित्र दर्ता छुट भएका जिल्लाहरुमा समावेश नगर्ने निर्णय गरेको छ । -onlinekhabar