सुनकाण्डमा समातिएका एसएसपी खत्रीको भूमिगत सुन पसल

257

फागुन ३०,
काठमाडौं । ३३ किलो सुनकाण्डमा मुछिएर थुनामा रहेका एसएसपी श्याम खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । साथै उनले साडी पसलमा ब्याजमा पैसा लगाएको समेत प्रहरीले पत्ता लगाएको छ । खत्रीको बैंक खाता भने अझै सार्वजनिक भइसकेको छैन ।
एसएसपी खत्रीसहित ३३ जनाविरुद्ध मुद्दा चलाएको सीआइबीले १२ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैको सम्पति विवरण खोजी भैरहेको हो ।
यसअघि सीआइबीले भन्सार कर्मचारी र व्यपारीहरुको स्वभाविक बैंक कारोवार संकलन गरिसकेको छ । तर, एसएसपी खत्री भने केही समयपछि पक्राउ परेकाले उनको बैंक विवरण आइसकेको छैन ।
सीआइबी स्रोतका अनुसार खत्रीको बैंक कारोवारबारे राष्ट्रबैंक मार्फत विवरण मागिएको छ । त्यस्तै उनको अन्य घर जग्गा तथा सम्पतिका बारेमा पनि मालपोत कार्यलयदेखि अन्य निकायसँग पनि विवरण माग भैसकेको सीआइबीले जनाएको छ ।
सुन तस्करीलाई साथ दिएको आरोपमा पक्राउ परेका खत्रीले तीन वर्ष अगाडि नै श्रीमतीका नाममा सुन पसलको लाइसेन्स लिएको भने अनुसन्धानबाट खुलेको छ ।
भूमिगत अलंकार इन्टरप्राइजेज १
सीआइबीको अनुसन्धानका क्रममा एसएसपी खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गराएको खुलेको हो । उनले श्रीमतीका नाममा करिब चार वर्ष अघि सुन पसल दर्ता गराएका थिए । ‘अलंकार इन्टरप्राइज’ नामको गहना तथा सुन पसलका लागि अनुमति लिए पनि उक्त सुन पसल भने कतै भेटिएको छैन ।
एसएसपी खत्रीले सुन माफियासँग सम्बन्ध बढेपछि नै उक्त सुन पसल दर्ता गराएको हुन सक्ने सीआईबीको अनुमान छ । श्रीमतीका नाममा लाइसेन्स लिएको भए पनि सञ्चालनमा नल्याइकन तीन वर्ष अघि नै रवीन्द्र केसीलाई विक्री भएको देखिएको छ ।
एसएसपी खत्रीले एकजना साडी व्यापारीलाई १७ लाख रुपैंया ब्याजमा लगानी गरेको पनि भेटिएको छ । न्युरोडमा सञ्चालित रितु इन्टरप्राइजेका सञ्चालकलाई लगानी गरेको १७ लाखको स्रोत नदेखिएको सीआईबीले जनाएको छ ।
खत्रीले उक्त पैसा महिनाको २ प्रतिशतका दरले ब्याजमा लगाएका थिए । तर, ब्याज बढाएर तीन प्रतिशत पुर्‍याएपछि व्यापारीले खत्रीको पैसा फिर्ता गरिदएको भेटिएको छ । ‘१७ लाखको भने स्रोत खुलेको छैन, सुन पसल किन दर्ता गराएर विक्री गरे भन्ने पनि खोजी भैरहेको छ,’ सीआइबी स्रोतले भन्यो, ‘त्योबाहेक उनको के के छ सम्बन्धित निकायसँग माग भएको छ ।’
थुनछेक जारी
सरकारी वकिलले सुनकाण्डका आरोपीविरुद्ध संगठित अपराध अन्र्तगत मुद्दा दायरा गरेको छ । पक्राउ परेका १२ जनासहित ३३ जनाविरुद्ध परेको मुद्दामाथि थुनछेक बहस चलिरहेको छ ।
जिल्ला अदालत काठमाडौंमा भैरहेको बहसमा शुक्रबार सरकारी वकिल र प्रतिवादीका तर्फबाट केही वकिलहरुले बहस गरेका थिए । यो समाचार अनलाइन खबरबाट लिएको हो