बालविवाह रोक्न किशोरी आमा सक्रिय

211

दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् ।
जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना दिएर दाङका नगरपालिका र गाविसमा गरी १० वटा विवाहित किशोरी आमा समूह निर्माण गरेको र उनीहरुमार्फत सचेतना दिन सुरु गरेको ओरेक नेपालका जिल्ला संयोजक तुलसा गिरीले बताए ।
यो आमा समूहले बालविवाह न्यूनीकरणका लागि गाविस र नगरपालिकामा सचेतना जगाउने ओरेक नेपालले विश्वास लिएको छ । दाङको धनौरी गाविसकी मोति चन्दले १४ वर्षको उमेरमा विवाह गरिन् हाल उनी भर्खर २१ वर्षकी छिन् । उनको दुईजना छोरी छन् ।
त्यस्तै घोराहीकी गीता नेपालीले पनि सानै उमेरमा विवाह गरिन् र हाल ३ वर्षकी छोरी छन् उनी भर्खरै २० वर्षकी भइन् । उनीहरु जस्तै यहाँका अधिकांश किशोरीले पहिले नबुझेर विवाह गर्दा अहिले पछुताएका छन् । “सानो उमेरमा हतारमा विवाह गर्दा अहिले पछुतो लागेको छ, न पढ्न पायो न त कुनै कुरा सिक्न पायो, कम उमेरमा विवाह गर्दा पछि समस्या हुँदोरहेछ”, नेपालीले भनिन् ।