मेची महाकाली यात्रामा अवरोध नगर्न एमालेको आग्रह

253

फागुन २२,
झापा । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको बताए ।
संविधान र निर्वाचनका लागि आजदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आजका कार्यक्रम सकिएपछि साँझ पत्रकार भेटघाट गरी भट्टराईले कुनै दल र व्यक्तिको विरोधमा आफ्नो अभियान नभएकाले यसलाई अवरोध गर्ने कुनै अवाञ्छित र अराजनीतिक गतिविधि गरिए सह्य नहुने जनाए । यसमा कसैले चित्त नबुझे हाम्रो सभा भएको भोलिपल्ट त्योभन्दा ठूला कार्यक्रम गरेर आफ्ना कुरा जनतालाई भन्दा हुन्छ”– उनले भने “मधेसी मोर्चा र मधेसका मुद्दा एकै सिक्काका दुई पाटा होइनन् । हामी मोर्चाले अघि सारेको संविधान संशोधनको मुद्दामा सहमत छैनौँ ।”
मोर्चाका कार्यकर्ताले आफ्ना सप्तरीका जिल्ला नेता प्रतापनारायण चौधरी र शम्भु यादवलाई शुक्रबार अभद्र व्यवहार गरेको एमालेको आरोप छ ।
अभियानलाई सुरक्षा दिने काम सरकारको भएको भन्दै यसमा कुनै अवाञ्छित क्रियाकलाप भए मानवअधिकार उल्लङ्घनको रुपमा लिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुगमनका लागि आग्रह पनि गरिएको जानकारी दिए ।