सुडालमा सरसफाई अभियान

860

भक्तपुर । नगरकोट नगरपालिकाको सुडालस्थित ४, ५, ६ र ७ वडामा सुनगाभा युवा क्लवले वातावरण तथा सरसफाई अभियान शुरु गरेको छ । ‘मानव जीवनको आधार वातावरण र सरसफाई’ भन्ने नाराका साथ शुरु भएको अभियानमा नगरपालिकाको ४ वटा वडाभित्रका बिद्यालय, धारा, धार्मिक, पर्यटकिय क्षेत्र, चोकहरुमा फोहोर व्यबस्थापन र जनचेतनामूलक अभियान शुरु गरिएको क्लवका अध्यक्ष लक्ष्मण दुलालले जानकारी दिए । अभियान अन्र्तगत ४ वटै वडाका संवेदनशिल क्षेत्रहरुमा कुहिने र नकुहिने रिङ्गको डस्टविन र जनचेतनामुलक होर्डिङ्ग बोर्ड राखिएको उनले बताए ।
सुडालभरिका १ सय २० स्थानमा कुहिने र नकुहिने ७ सय २० वटा डस्टविन राख्ने र होर्डिङ्ग बोर्ड राख्ने कार्य शुरु गरिएको छ भने सप्ताहव्यापी सरसफाई कार्यक्रमको पनि आयोजना हुनेछ । अभियानलाई सफल पार्न क्लवका २० जना युवाहरुले स्वयंसेवकको कार्य गरिरहेका छन् । डस्टविन र होर्डिङ्गबोर्ड निर्माण गर्न ५ लाख खर्च लाग्ने दुलालले जानकारी दिए । नगरकोट नगरपालिकाले १ लाख सहयोग गरेको छ भने वाँकि रकम स्थानीयले आर्थिक सहयोग प्रदान गरेको उनले बताए ।
नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले अव्यबस्थित रुपमा रहेको फोहोर सरसफाई गरि डस्टविनमा फालेर वातावरण तथा सरसफाई अभियानको शुभारम्भ गरे । कार्यक्रममा कार्कीले नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको फोहोर व्यबस्थापनमा स्थानीय युवाहरुले संस्थागत रुपमै जिम्मेवारी लिएकाले नगर सफा पार्ने राष्ट्रिय अभियानमा टेवा पुगेको बताए । सो अवसरमा भक्तपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन बजगाईंले विकासको मेरुदण्ड नै वातावरण र सरसफाई भएकाले मानिसको जीवन र स्वास्थ्यसँग जोडिएको सरसफाइमा त्यहाँका समूदायको भूमिका र जिम्मेवारी बढि हुने बताए ।
अभियान शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधी यादव अधिकारी, नेकपा एमालेका राजु सुवेदी, नेमकिपाका केशव तिमिल्सिना, नयाँ शक्तिका विनोद लामिछाने, क्लबका संस्थापक अध्यक्ष निर्मलकुमार दुलाललगायतले अभियानले समूदाय र सरोकारवाला निकायलाई वातावरण र सरसफाईप्रति सजक, सचेत र जिम्मेवार बनाएको बताए ।