डोलेश्वर आएका साधुलाई दक्षिणासहित बिदाइ

204

भक्तपुर । भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्त र नागाबाबाहरुलाई शनिवार बिदाई गरिएको छ ।
साधुसन्त र नागाबाबाहरुलाई दक्षिणाका साथ १ थान कम्बल, २ थान धोती र १ थान कमण्डलु प्रदान गरि विदाई गरिएको हो । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
जसअनुसार क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय ११, ख वर्गलाई ७ सय ७७ रुपैयाँ र ग वर्गलाई ५ सय ५५ रुपैयाँ दक्षिणा दिइएको छ । डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तहरुको आगमन हुने गरेको हो । यस वर्ष २ सय ५० साधुसन्तहरुको आएको समितिले जनाएको छ ।
डोलेश्वरमा शिवरात्री पर्वका लागि गत दुई हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए । मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गर्दै आएको छ ।