पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दीमा कुखुरा–चल्ला आयातमा कडाइ

146

फागुन १५ ।
बेनी । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताए । जिल्ला भित्रिने पर्वत बेनीको नाकामा प्राविधिक सुवास रेग्मी र बागलुङ जोड्ने रत्नेचौरमा टुकनाथ तिवारीलाई खटाइएको छ ।
दुईवटै नाकाबाट भित्रिने पशुपक्षीमा चेकजाँच र आवश्यकताअनुसार परीक्षण गर्ने व्यवस्था मिलाइएको पशुसेवा कार्यालयले जनाएको छ । बिहान बेलुकी लुकीछिपी भित्रन सक्ने सम्भावनालाई समेत मध्यनजर गरी प्रहरीसँग समन्वयन गरिएको छ ।
प्रजिअ राजुप्रसाद पौडेलको अध्यक्षतामा बस्ने जिल्लास्तरीय समितिको बैठकले समेत थप योजना बनाएर बर्डफ्लु नियन्त्रणका लागि आवश्यकताअनुसारको सतर्कता अपनाउने पशुसेवा कार्यालयले जनाएको छ ।
म्याग्दी जिल्लामा पर्वत बेनी हुँदै दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कुखुरा भित्रिने गर्छ । जिल्लाभित्र नै मासुका लागि पर्याप्त कुखुरा खपत हुने गरेको अवस्थामा मासु पसलका सञ्चालकले सस्तो मूल्यमा बिना परीक्षण मासु ल्याउने गरेको गुनासोसमेत गर्ने गरिन्छ ।