पानीको अभावले विद्यार्थीले विद्यालय छाडे

198

पाल्पा । खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् । नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ । दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ । हाल कक्षा एकमा ११ जना, कक्षा दुईमा पाँच जना, कक्षा तीनमा पाँच जना, कक्षा चारमा पाँच जना गरी जम्मा २६ जना विद्यार्थी रहेका छन् । दुई जना दरबन्दी र एक जना निजी स्रोतमा कार्यरत शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर आलेले बताए । गाउँमा कुनै पनि पानीको स्रोत नभएपछि खानेपानीको समस्याले गर्दा विद्यालयमा विद्यार्थी संख्यामा न्यून आएको आलेको भनाई छ । गाउँभरि नै पानीको समस्या बिहानभरि विद्यार्थी पानीको जोहो गर्दा विद्यालयमा पनि नियमित उपस्थित नभएपछि विद्यालय जानु र नजानुको कुनै महत्व नभएको पूर्व शिक्षक मिनु सिंजालीले बताइन् ।