नेपालमा केबलकार निर्माणका लागि धेरैको होडबाजी

261

माघ ११,
काठमाडौं । केबलकार निर्माणका लागि अहिले होडबाजी चलेको छ । विभिन्न कम्पनीले थप १२ स्थानमा केबलकार निर्माण तथा सञ्चालनका लागि सरकारसँग अनुमति मागेका छन् । एकै स्थानमा केबलकार निर्माणका लागि पाँच कम्पनीले आवेदन दिएका छन् । ताप्लेजुङको पाथिभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि ५ वटा कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निवेदन दिएका छन् । पाथीभरा, स्वर्गद्वारी, मक्तिनाथ मन्दिरदेखि सारङकोट डाँडामा समेत केबलकार लैजाने प्रस्ताव आएको छ । र, केहीमा प्रारम्भिक वातावरणीय मूल्यांकनका लागि अनुमाति समेत दिइएको छ । अब ११ स्थानमा केबलकार निर्माण भने पाइपलाइनमा छ । पाथीभर, कालिन्चोक मन्दिरका साथै सेतीबगर–सारङकोट, गोदावरी फुल्चोकी र सहसपथ दोभावमा पनि केबलकार निर्माणका लागि प्रारम्भिक वातावरणीय मूल्यांकनको अनुमति दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार पाथीभरमा पाँच कम्पनीले केबलकार निर्माणका लागि आवेदन दिएका छन् । त्रिवेणी केबलकार, हिमाल दर्शन, पाथीभरा देवी दर्शन, इलाम पाथीभरा दर्शन प्राली र दिब्य दर्शनले पाथीभरामा केबलकार निर्माणका लागि प्रस्ताव पेश गरेका छन् । मन्त्रालयले त्रिवेणी केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय मूल्यांकन गर्न अनुमति दिएको अधिकारीले बताए । अन्य कम्पनीको निवदेन भने थाती राखिएको छ । यस्तै सेतीबगरदेखि सराङकोट डाँडासम्म केवलकार निर्माणका लागि आवेदन दिएको अन्नपूर्ण केबलकार प्रालिलाई प्रारम्भिक वातावरणीय मूल्यांकन अनुमति दिइएको छ । त्यस्तै गोदावरीदेखि फुल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र बुटवलको साहसपथ दोभानमा सिद्धार्थ केबलकार प्रालिले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको अनुमति पाएका छन् । कालिन्चोक मन्दिरमा केबलकार बनाउन चाहेको कालिन्चोक दर्शन लिमिटेडले पनि वातावरणीय प्रभाव मूल्यांकन अनुमति पाएको छ । मनकामनामा केबलकार गुड्न थालेको दुई दशकपछि काठमाडौंको चद्रागिरिमा पनि केबलकार सुरु भयो । तर, अबको केही वर्षमा चर्चित मन्दिरदेखि पर्यटकीय गन्तव्यहरुमा समेत केबलकार हुने देखिएको छ । दिव्य दर्शन कम्पनीले देशका ३ स्थानमा केवलकार निर्माणका लागि अनुमति मागेको छ । मन्त्रालयका अनुसार यो कम्पनीे मुक्तिनाथ मन्दिर, प्युठानको स्वर्गद्वारी र पाथीभरा मन्दिरका क्षेत्रमा केबलकार निर्माणका लागि अनुमति मागेको छ । तर, मन्त्रालयले पाथीभराका लागि दिब्य दर्शनको साटो त्रिवेणी केबलकारलाई प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकन अनुमति पाएको छ । मुक्तिनाथ र स्वर्गद्वारी प्रक्रियामै छन् ।