काठमाडौं –जोमसोम सिधा बस सेवा संचालनमा

359

काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ । सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन् । एक वर्षदेखि म्याग्दी र मुस्ताङ समितिले हरेक दिन बेनीदेखि जोमसोमसम्म सिधा यात्रुबाहक बस सञ्चालन गरिरहेको छ । गत मङ्सिरदेखि मुक्तिनाथ दर्शन प्रालिले जोमसोम–पोखरामा सिधा जिप सेवा सञ्चालन गरिरहेको छ । यो रुटमा हरेक दिन तीनवटासम्म जिप छुट्ने गरेका छन् । धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले गत बिहीबारदेखि जोमसोम–काठमाडौँ सिधा रात्रि डिलक्स बस सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा म्याग्दी सदरमुकाम बेनीसम्म रहेकामा स्थानीय यातायात व्यवसायीको सहकार्यमै जोमसोमसम्म विस्तार गरिएको हो । म्याग्दी र मुस्ताङ समितिले स्थानीय यात्रुलाई लक्षित गर्दै बेनी–घासा र घासा–जोमसोममा नियमित बस तथा जिप सञ्चालन गरिरहेको छ ।