बिहानै त्रिशूलीमा ट्रक खस्यो

203

माघ १६,
चितवन । चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ ।
चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ । ट्रकमा अन्य मानिस कति थिए भन्ने नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
यसैबीच कुरिनटारमा आज बिहान अर्को ट्रक पल्टिँदा दुईजना घाइते भएका छन् । ट्रक पानीमा डुबेको अवस्थामा रहेको छ ।वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना६ख ४७२९ नंको मच्छड धुप बोकेको ट्रक अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ । बिहान करिब १ः३० बजेको समयमा चितवनको दारेचोक गाविस–३ कुरिनटारमा आफैँ अनियन्त्रित भई ट्रक पल्टिएर २० फिट तल पुग्दा दुर्घटना भएको छ । सो दुर्घटनामा परी चालक सिन्धुपाल्चोकका २६ वर्षीय हरि बस्नेत र सहचालक सोही ठाउँका १८ वर्षीय नीरज भुजेल घाइते भएको प्रहरीले जनाएको छ । दुवै घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।