भक्तपुरको चोकचोकमा सिसी क्यामरा

191

माघ ६,
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । अभियानलाई पूर्णता दिनका लागि मध्यपुर थिमि नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि प्रहरीले चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो । महानगरीय प्रहरी वृत्त थिमिले माघ महिनाभित्र पहिलो चरणमा १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी क्यामरा जडान गर्ने भएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् । प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएपछि बैंकले सिसी क्यामरा जडान गर्न थालेका छन् । त्यसैगरी, स्थानीय बासिन्दा, दलका प्रतिनिधि र समाजसेवीसँगको बृहत् छलफलपछि सिसी क्यामरा अभियान सुरु गरिएको हो । सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त थिमिले सहयोग गर्न दातालाई आग्रह गरेको छ । प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोकचोकमा र पुरानो बाटोको बहाखा बजारलगायत मानिसको भीडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गरिने भएको ओलियाले जानकारी दिए ।