पुस २४,
काठमाडौं । निर्देशक तुलसी घिमिरेले प्राविधिक कमजोरी अनि चित्तबुझ्दो काम नभएको भन्दै फिल्म दर्पण छायाँ २ को क्लाइमेक्स रि–सुट गरेका छन् । दाजिलिङमा केहि दिन पहिले फिल्मको क्लाईमेक्स पुनः छायाँकन गरिएको हो । झण्डै १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जि्लिङको जीटीए सभा हलमा गरिएको हो । भीएफएक्स प्रविधिको सहायतामा क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिकका कारण असफल भएपछि फेरि सुटिङ गर्नुपरेको बताईएको छ । क्लाइमेक्सलाई स्तरीय र वास्तविक देखाउने प्रयास गरिएको घिमिरेले बताए । फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन् । उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने डान्स प्लस सिजन २ का फाइनलिस्ट हुन् । मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन् । सुटिङका क्रममा भेटिएका लेप्चाले नेपाली फिल्मका नृत्यको कोरियोग्राफी गर्न पाउँदा खुशी लागेको बताए । सहारा फिल्मस्को पहिलो प्रस्तुति रहेको फिल्मको प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । । फिल्मको मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । फिल्मको छायांकन रामेश्वर कार्कीले गरेका हुन् ।