हत्याआरोपी जोगाउन प्रहरीमाथि ढुङ्गामुढा

184

पर्सा । हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार बेलुका छ राउन्ड गोली चलाएको छ । बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा पर्सा प्रहरीले गोली चलाउनुपरेको हो । दुई बालकको हत्याको अभियोगमा फरार रहेका गिरीलाई पर्साको विजबनिया गाविसको गढइया टोलबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा गिरीलाई भगाउन स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट छ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनले विजबनियाको गढइया टोल निवासी अजय गिरीको घरमा वृजकिशोर लुकी बसेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो, अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले छापामारी उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए ।