वर्गीकरण नतिजा काउन्सिल प्रांगनमै जलाइयो

357

पुस २०,
काठमाडौं । ‘भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समिति’को बैठकले प्रधानमन्त्री, सभामुख, सञ्चारमन्त्री लगायत पार्टीका वरिष्ठ नेताहरुलाई ज्ञापन पत्र बुझाएर तीन दिने अल्टिमेटम दिने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले माग पुरा नभएसम्म चरणबद्ध रुपमा आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । यसअघि भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समिति’को भेलाले प्रेस काउन्सिल नेपालको प्रागणमा प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१÷०७२ को वर्गीकरणको नतिजाको प्रतिवेदन र काउन्सिलका पदाधिकारीहरुको फोटोसहित जलाएर विरोध प्रदर्शन गरेका छन् । वर्गीकरण विरुद्धको समितिले आयोजना गरेको कार्यक्रममा भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समितिका संयोजक जेपी गुप्ताले कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै वर्गीकरण खारेज नगरेसम्म आन्दोलन जारी राख्ने बताए । संयोजक गुप्ताले प्रेस काउन्सिलका पदाधिकारी र त्यहाँ कार्यरत केही कर्मचारीहरुको सम्पत्तिको छानबिन गर्नका लागि पनि सरकारसँग माग गरेका छन् । प्रत्येक वर्ष काउन्सिलले सार्वजनिक गर्ने गरेको वर्गीकरणको नतिजा अवैज्ञानिक, प्रतिशोध, भेदभावपूर्ण वर्गीकरण गरेको प्रति गम्भीर आपत्ति जनाउँदै उनले खेद व्यक्त गरेका छन् । प्रेस काउन्सिलको प्रागणमै भएको विरोध सभामा काउन्सिलले गरेको भेदभावपूर्ण वर्गीकरणको नतिजा नसच्याएसम्म आन्दोलन जारी राख्ने भन्दै काउन्सिलद्धारा प्रकाशित २०७१÷०७२को वर्गिकरण नतिजा जलाएका थिए । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले प्रत्येक वर्ष भेदभावपूर्ण तरिकाले गर्ने गरिएको पछिल्लो वर्गीकरण नतिजा सच्याउनु पर्ने माग गर्दै संघर्ष समितिको आन्दोलनमा आफुहरुको समर्थन रहने बताए । उनले सघर्ष समितिको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै विभेद गरिएको वर्गीकरण खारेज गर्दै निष्पक्ष वर्गीकरण गर्नका लागि पनि आग्रह गरे । त्यसैगरी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष श्रीजन झाले पनि संघर्ष समितिको मागप्रति ऐक्यबद्धता जनाउँदै भेदभावपूर्ण तरीकाले गरिएको वर्गीकरण खारेज गर्नका लागि माग गरे । झाले यस विषयमा सम्बन्धीत निकायसंग छलफल गर्ने बताउदैँ प्रत्येक वर्ष काउन्सिलले गर्दै आएको गैर जिम्मेवारी कार्य समाप्त गर्नका लागि आन्दोलन जारी राख्ने बताए । त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष अमर भुजुले पनि संघर्ष समितिको मागलाई ऐक्यबद्धता जनाउँदै भेदभावपूर्ण रुपले गरिएको वर्गीकरण खारेज नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए । त्यसैगरी दैनिक पत्रिका राष्ट्रिय सञ्जालका उपाध्यक्ष नेत्र प्रसाद न्यौपाने र विकल प्रसाद श्रेष्ठले पनि संघर्ष समितिप्रति ऐक्यबद्धता जनाउँदै प्रेस काउन्सिलले सार्वजनिक गरेको वर्गीकरण खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए । उक्त कार्यक्रममा संचारसंग सम्बन्धीत विभिन्न संघ संस्था, विभिन्न क्षेत्रमा कार्यरत पत्रकारहरुले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।