मदन भण्डारीको सम्झनामा नमुना गाउँ बनाइने

196

१९ पुस,
मोरङ । स्व जननेता मदन भण्डारीको सम्झनामा उहाँको कर्मथलो मोरङको इटहरालाई मदन भण्डारी नमुुना गाउँ बनाइने भएको छ । भण्डारीले आफ्नो राजनीतिक कर्मथलो बनाएको इटहरा गाविसलाई विकासका पूर्वाधार निर्माण गरेर नमुुना गाउँ बनाउन लागिएको हो । त्यसका लागि इटहरा–८ लाई मदनग्राम नाम दिएर मदन भण्डारी स्मृति प्रतिष्ठानले भण्डारीको घर, जग्गालाई स्वामित्वमा लिई काम सुरु गरेको छ । विसं २०३२ सालदेखि इटहरा–८ मा बस्नुभएका जननेता भण्डारीको गाउँलाई विकास र सम्वृद्धिसँग जोड्न अभियान थालिएको मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालले बताउनुभयो । उहाँ बस्नुभएको घरलाई अहिले संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।
नेता भण्डारी जन्मनु भएको ताप्लेजुङको ढुङ्गेसाँघुदेखि मोरङको इटहरासम्मलाई नेपालको हिमाल, पहाड र तराईसँग जोडेर सहरी विकास मोडेल अनुसार नमुना गाउँ बनाउन लागिएको बरालले बताउनु भयो ।
उहाँका अनुसार मदन भण्डारीसँग भावी पुस्तालाई साक्षात्कार गराउन र उहाँका पहिचानलाई जीवित राख्न नमुना गाउँ अभियान थालिएको हो । त्यसका लागि भण्डारीको घरमा प्रयोग भएका ५३२ वटा सामानको सूची बनाएर सङ्कलन गरिसकिएको छ । साभारः पूर्वेली खबर