छाउगोठमा दुई जनाको रहस्यमय मृत्युु

290

लालबहादुर विक
पुस ४ ।
अछाम । अछाम जिल्लामा एक महिना नपुग्दै दुई जना महिलाको छाउगोठमा रहस्यमय मृत्यु भएको छ । मंसिर महिनाको ४ गते राती तिमिल्सेन गाविसकी २६ बर्षिय डम्बरा उपाध्यायको मृत्युको खबर सेलाउन नपाउदै अर्को एक घटनाले फेरि अछामलाई मर्माहित तुल्यएको छ । जिल्लाको गाज्रा गाविस –७ निवासी भरत तिरुवाकी १५ बर्षिय किसोल छोरी रोशनी तिरुवा आइतबार बिहान छाउगोठमा मृत अवस्थामा फेला परेकी छन् । तिरुवाको शनिबार राती मृत्यु भएको अनुमान गरिएको छ । शनिबार बेलुकी ६ बजेतिर खाना खाएर छाउगोठमा सुत्न गएकी रोशनी आइतबार बिहान सात बजेसम्म नउठेपछि उनका बुवाले ढोका फोरेर हेर्न जाँदा मृत अवस्थामा उनि फेला परेकी हुन् । झ्याल नभएको र भित्र आगो बालेकोले भित्र गुम्सिएको धुवाँको कारणले निस्सासिएर रोशनीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको घटनास्थलबाट प्रहरी निरीक्षक तथा अछाम प्रहरी प्रवक्ता बद्रीप्रसाद ढकालले जानकारी दिएका छन् ।chhaupadi
ढकालका अनुसार मृतकको शरिरमा कुनै चोटपटक नलागेको समेत उनको भनाइ छ । गाज्रा गाविसलाई एकबर्ष अघि मात्र छाउपडी गोठमुक्त घोषणा गरिएको थियो । गाज्रा गाविसमा रहेका सबै महिला तथा किशोरीहरु महिनावारी भएका बेला सुरक्षित रुपमा घरमै बस्न थालेको भन्दै अघिल्लो बर्ष छाउपडी गोठमुक्त गाविस घोषणा गरिएको थियो ।
अछाममा हाल नगरपालिकामा गाभिएका सहित ३२ गाविस र गाविसका केही वार्डहरु छाउपडी गोठमुक्त भइसकेका भए पनि फेरि अनुगमन गर्ने कुराहरुमा सम्बन्धित निकायले ध्यान नदिँदा यो घटना घटेको हुन सक्ने स्थानियको गुनासो रहेको छ । जिल्लामा सन् २००७ देखी हालसम्म ९ जना महिला तथा किशोरीहरुको छाउपडी गोठमै ज्यान गइसकेको छ । महिनावारी भएका बेला घरबाट टाढा, साँघुरो, हावा नछिर्ने कटेरोमा कष्टपुर्ण बसाइले महिलाहरुको ज्यान गइरहेको हो । अघिल्लो महिनामा डम्बराको मृत्युपछि प्रधानमन्त्रीले समेत विशेष चाँसो राख्नु भएको थियो । अहिलेपनि अछाम जिल्लाका विभिन्न गाविसहरुमा छाउपडी कुरितीका विरुद्धमा कार्यक्रमहरु सञ्चालन भइरहेको अवस्थामा यसरी रहस्यमय मृत्युको कारणले गर्दा प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सेना पनि चिन्तित हुनु भएको छ । यसको लागि जिल्लामा पटक पटक छलफल गरिएको भएपनि ठोस निष्कर्षमा पुग्न नसकिएको उनले बताए ।