संसदमा अवरोध कायम राख्न एमाले र नेमकिपाको सहमती

161

मंसिर २९ । भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको निवास भक्तपुरमा बुधबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका केही नेता सहित पुगे । दुई पार्टीका नेताहरु बीच करीब एक घण्टा जति वार्ता भएको छ ।
भेटवार्तामा देशको समसामयीक वर्तमान सन्दर्भमा कसरी अगाडि बढ्ने र संसदको अवरोध, संविधानको कार्यान्वयन एवं निर्वाचनको बारेमा दुई दलका नेताहरु बिच छलफल भएको छ ।
भेटवार्ता पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्गले संसदको जारी अवरोध, संविधानको कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि जाने भन्नेबारेमा छलफल भएको बताए ।
संसदमा विधेयक छ संविधानको ठाडो प्रतिकूल, सर्वोच्च अदालतको अवहेलना गर्दै दर्ता भएको विदेयध देश र जनताको हितमा नभएको बैठकमा कुरा उठेको छ ।20161214_102359
५ नम्बर प्रदेशका जनताको पनि माग होईन, यहाँका सबै दलहरु यसको विरोध रहेको गरीरहेकाले कसरी समस्याको समाधान गर्ने भन्ने विषयमा छलफल भएको हो ।
नेम्वाङ्गले भने ‘संसदमा आन्दोलन चलिरहेको छ, संसद अबरुद्ध भईरहेको छ, सडकमा पनि जनता उठिरहेको बेलामा अब कसरी अगाडि बढ्ने भन्ने र आन्दोलनलाई कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ ।’
भेटवार्ता पछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अबरोध जारी राख्नेबारेमा दुई दलबिच सहमति भएको बताए ।
बिजुक्छेले भने ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई स्थगित गरेर अगाडि जानु हुदैन, यसो गर्दा जनताको भावनामा ठेस पुग्छ र जनताले संसदलाई पनि विश्वास गर्दैनन्’ ।
जनताले पार्टीहरुलाई पनि विश्वास गर्दैनन्, प्रस्ताव फिर्ता नलिएसम्म संसद अबरुद्ध गर्नेकार्यलाई निरन्तरता दिनु पर्छ, यसका लागि सरकारलाई दबाब दिनुपर्छ भन्ने विषयमा कुरा भएको बिजुक्छेले बताए ।
स्थानीय निकायको निर्वाचनका लागि अझै ऐन कानून नै नबनेको अबस्थामा संसदमा दर्ता भएको विधेयकलाई थाती राखेर निर्वाचानमा जाने भन्ने चर्चा गर्दै सत्ता पक्षले प्रतिपक्षको ध्यान अन्तै मोड्न खाजेको बिजुक्छेले बताए ।
उक्त भेटवार्तामा एमालेका नेता अग्नी खरेल, नेमकिपाका तर्फबाट प्रेम सुवाल, सुनिल प्रजापति लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।