रेडक्रस नगरकोट उपशाखाका बजगाईं सभापति

341

भक्तपुर । नेपाल रेडक्रस सोसाईटी नगरकोट उपशाखाको १२औं उपशाखा सभा एवम् चौथो अधिवेशनले सोम शर्मा बजगाईलाई आगामी ४ बर्षे कार्यकालका लागि सभापतिमा निर्विरोध चयन गरेको छ । अधिवेशनले सभापतिसहित ९ सदस्यिय कार्यसमिति चयन गरेको हो । उपशाखा कार्यसमिति सदस्यहरुमा कल्पदिप खड्का, हरिशरण बास्तोला, श्रीराम लामिछाने, बिष्णु तामाङ्ग, मनोज गिरी, दिवाकर मुनंकर्मी, बिजय लामिछाने र राजिव लामिछाने चयन भएका छन् । यसअघि भएको अधिवेशनको उद्घाटन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले मानविय सेवा कार्यमा विश्वभर नै अग्रणी र विश्वासिलो संस्थाको रुपमा रेडक्रस सोसाइटीले पहिचान बनाएको बताए । उनले रेडक्रसको गरिमा र यसका सिद्धान्तहरु इमान्दारिताका साथ पालना हुन सकेमात्र महान उद्देश्य बोकेका यस्ता संस्थाहरुप्रतिको आम नागरिकको विश्वास कायम रहने उल्लेख गरे । कार्यक्रममा रेडक्रस केन्द्रीय सदस्य एवम् भक्तपुरका सभापति मनोजकुमार थापाले भूकम्पको समयमा रेडक्रसले खेलेको भूमिकाको विश्व समुदायले समेत प्रशंसा गरेको उल्लेख गर्दै भक्तपुर रेडक्रसले जिल्लाका नगर, वडा, समुदाय, बिद्यालयलगायत हरेक क्षेत्र र बर्गसम्म आफ्नो सेवा र पहुँच विस्तार गरिसकेको बताए । सभामा निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईंले मानविय सेवाको उत्कृष्ठ संस्थाका रुपमा पहिचान बनाएको रेडक्रसले अझै प्रभावकारी रुपमा स्थानीय स्तरमा विपद्मा भूमिका निर्वाह गर्न आग्रह गरे । सो अवसरमा उपशाखाले प्रकाशन गरेको ‘नगरकोट बुलेटिन’ बिमोचन गर्नुका साथै उपशाखाद्धारा सञ्चालित एम्बुलेन्स सञ्चालनार्थ सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।