छुट्टाछुट्टै घटनामा ६ को मृत्यु

214

४ असोज, भक्तपुर । पोखरी र घरमा बनाइएको भूमिगत पानी ट्यांकीमा डुबेर दुई बालकको सोमबार साँझ ज्यान गएको छ।        123
काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका-४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्षका छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
त्यसैगरी भक्तपुर नगरपालिका-३ कमलविनायकस्थित राजन चित्रकारको निर्माणाधीन एकतले घरको भुइँतलामा बनाइँदै गरेको भूमिगत पानी ट्यांकीमा डुबेर अर्को एकादशी प्याथका पाँच वर्षीय छोरा आर्यनको मृत्यु भएको छ । प्रहरीका अनुसार उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनको निधन भएको हो ।
यस्तै करेन्ट लागेर गए राति झापा शनिअर्जुन नगरपालिका-६ निवासी ३३ वर्षीय नरबहादुर भुजेलको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी निरीक्षक मधुकुमार थापाका अनुसार नगरपालिका-९ बसपार्क नजिकै रहेको भरतबहादुर अधिकारीका घरमा भाडामा बस्दै आएका उनलाई विद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेको थियो ।
कैलाली जिल्लाको अत्तरिया नगरपालिकास्थित गोदावरी नदीमा डुबेर सोमबार साँझ तीन बालकको मृत्यु भएको छ ।
अत्तरिया नगरपालिका- १३ का शङ्करबहादुर कार्कीका १५ वर्षीय छोरा विशाल, पदम विक का १० वर्षीय छोरा निराजन र लालबहादुर विक का १२ वर्षीय छोरा उमेशको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
अत्तरिया नगर क्षेत्रका तीन छुट्टाछुट्टै घन्टेश्वर, पुष्पाञ्जलि र जेके विद्यालयमा ती बालक अध्ययनरत रहेको बताइएको छ । उनीहरु सोमबारको सार्वजनिक बिदाको दिन ती बालक अत्तरिया बजारबाट पश्चिम रहेको गोदावरी नदीमा सँगै नुहाउन गएका थिए ।