Friday, October 23, 2026
Home Uncategorized तरकारीको मूल्य अकासियो

तरकारीको मूल्य अकासियो

239

[R-slider id=”1″]
आश्विन ४, २०७३- चाडपर्व नजिकिँदै गर्दा तरकारीको मूल्य अकासिन थालेको छ । माग अत्यधिक बढेपछि तरकारीको मूल्य अकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार दुई साताको अवधिमा तरकारीको थोक मूल्यमै ७ देखि २ सय १८ प्रतिशतले वृद्धि भएको छ । दुई साताअघि किलोको ३३ रुपैयाँ पर्ने तितेकरेला हाल बढेर १ सय ५ रुपैयाँ पुगेको छ । यस्तै स्थानीय काउली, मूला, बोडी, घिउसिमी, लौका, भिन्डी, परवर, हरियो प्याज, काँक्रो, अदुवा, लसुनको भाउ अकासिएको हो ।
‘तरकारीको माग ह्वातै बढेको छ । तर, मागअनुसार आयात हुन सकेको छैन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने । समितिका अनुसार दैनिक ७ सय ५० टन आयात हुने तयारी हाल ६ सय ५० टनमा झरेको छ । अत्यावश्क वस्तुका रूपमा रहेको तरकारीको भाउ अस्वाभाविक रूपमा बढे पनि बजार हस्तक्षेप/मूल्य नियन्त्रण गर्ने जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भने मौन छ । यस क्षेत्रमा अनुगमन गरेको देखिँदैन ।
समितिको तथ्यांकअनुसार दुई साताअघि प्रतिकिलो ७२ रुपैयाँ (होलसेल) पर्ने काउली बढेर ८२, प्रतिकिलो ४२ रुपैयाँ पर्ने मूला ४८, प्रतिकिलो २२ रुपैयाँ पर्ने भान्टा ४८, प्रतिकिलो ७२ रुपैयाँ पर्ने बोडी ९८ रुपैयाँ पुगेको छ । प्रतिकिलो ८२ रुपैयाँ (होलसेल मूल्य) पर्ने घिउसिमी १ सय २५ रुपैयाँ, किलोको २२ रुपैयाँ पर्ने लौका बढेर ४८, किलोको ५२ रुपैयाँ पर्ने भिन्डी ६८, ५२ रुपैयाँ पर्ने परवर बढेर ६८ रुपैयाँ पुगेको तथ्यांकमा छ । होलसेल मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले झन मनलाग्दी असुल्ने गरेका छन् । खुद्रा व्यापारीले पसलैपिच्छे फरकफरक मूल्य असुल्दै आएका छन् । तर, अनुगमन गर्ने यसतर्फ ध्यानै नदिएको उपभोक्ताकर्मीहरू बताउँछन् ।
‘तरकारीको मूल्य वृद्धिबारे आपूर्ति विभागले अनुगमन गर्नुपर्ने हो । तर, विभागको ध्यान यसतर्फ गएको छैन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने । पर्याप्त सक्षम जनशक्तिको अभावले पनि सर्वसाधारण दिनहुँ महँगीको मारमा परेको उपभोक्तावादीहरूको भनाइ छ । ‘तरकारीको क्षेत्रमा बिचौलियाको हालीमुहालीका कारण सम्बन्धित कृषकले मूल्य नपाए पनि सर्वसाधारण चर्को मूल्य तिर्न बाध्य छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘सरकारले होलसेलदेखि खुद्रा तरकारी पसलमा अनुगमन गर्न आवश्यक छ ।’ तथ्यांकअनुसार किलोको ५३ रुपैयाँ पर्ने हरियो प्याज ६३ रुपैयाँ, ४८ रुपैयाँ पर्ने काँक्रो ५८, किलोको ६८ रुपैयाँ पर्ने अदुवा ७५, २ सय ८५ रुपैयाँ पर्ने चाइनिज लसुन ३ सय ५, २ सय ४५ रुपैयाँ पर्ने नेपाली लसुन २ सय ७५ रुपैयाँ पुगेको छ ।