भक्तपुर । मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ। सूर्यविनायक नगरपालिका–९, भक्तपुर भातेढिकुरस्थित विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो।
विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गरेका छन् । विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले रोहिणीलाई रु. ५० हजार र छात्रा सरिना लामालाई रु. १० हजार नगद पुरस्कार प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिईन ।
सत्यशक्ति पुस्तक भण्डारका महेश थापा तथा विद्यालयका सह–प्राचार्य राधेश्याम केसीले पनि रोहिणी शिल्पकारलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरेका छन् ।
कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो। साथै, विद्यार्थीको सफलताका लागि निरन्तर खटिएका शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ। मदरल्याण्ड स्कुलले यस वर्षको एसईई नतिजालाई विद्यालयको गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै विद्यार्थीको क्षमता विकास र शैक्षिक उत्कृष्टतामा थप जोड दिने जनाएको छ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सञ्जय खड्काले विद्यार्थीको उत्कृष्ट नतिजामा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथ समान रूपमा महत्वपूर्ण रहने बताए । उनले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 



















