प्रेस चौतारीको टोली अनलाइनखबरमा

51

काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीहरुबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन सुरु गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार अनलाइनखबरको कार्यालयमा आएर राजावादीहरुको आक्रमणबाट परेको असरवारे जानकारी लिएको हो । टोलीले राजावादीहरुको आक्रमणबाट घाइते भएका अनलाइनखबरकर्मी दिनेश गौतमको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएको छ ।

अनुगमनपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले राजावादीहरुले सञ्चारमाध्यमहरुलाई आक्रमणको निशाना बनाएकोमा दुःख व्यक्त गर्दै संलग्नहरुलाई कानूनी कठघरामा उभ्याउन आफूहरुले दबाब सिर्जना गर्ने बताए । उनले उदण्ड आक्रमणकारीको भर्त्सना गर्दै राज्यले अपनाएको संयमकै कारण शुक्रबार थप क्षति हुन नपाएको भन्दै पत्रकार तथा नागरिकको सुरक्षाप्रति गम्भीर हुन सरकारसँग माग गरे । प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चारमाध्यमहरुमा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिहरुलाई स्थापित गर्न खोजिएको भन्दै अविचलित भएर आफ्नो पेसागत काम गर्न अनलाइनखबरकर्मीहरुलाई आग्रह गरे । -अनलाइनखबर