Saturday, October 3, 2026
Home समाज युवा नेता तुलबहादुरको खुर्सानी खेती

युवा नेता तुलबहादुरको खुर्सानी खेती

92

पाल्पा : निकै फुर्तिलो र जाँगरिलो देखिने ४१ वर्षे युवा प्रायः बारीमै रमाइरहने। सामाजिक तथा राजनीतिक काममा पनि सक्रिय रिब्दीकोट गाउँपालिका–४ फूलबारीका तुलबहादुर अधिकारी। उनले व्यावसायिक खुर्सानी खेती थालेका छन्। अहिले घरमाथिको पाखो बारीभरि लटरम्म खुर्सानी फलेका छन्। केही पाकेर रातै छन्। केही पाक्ने अवस्थामा छन्। यतिवेला ती खुर्सानी टिपेर बेच्न तुलबहादुरलाई भ्याइनभ्याइ छ। वैशाख–जेठ महिनामा खुर्सानीका बिरुवा रोपेका थिए। करिब ४ महिनापछि उत्पादन हुन थालेको छ। बारीमा आएर काम गर्दा निकै आनन्द लाग्ने उनले बताए।

‘राजनीति र सामाजिक कामलाई दरिलो बनाउन म उत्पादनमा जोडिएको हुँ’, उनले भने, ‘बेरोजगार भइयो। जागिर लगाइदिन पर्‍यो भन्ने धेरै युवाको गुनासो सुनिन्छ। बाँझा बारीमा खुर्सानी लगायत तरकारी खेती गर्न सके मनग्य आम्दानी लिन सकिँदो रहेछ।’वर्षमा ५ लाख कमाउन खाडी जानु नपर्ने उनले बताए।२ रोपनी जमिनमा २ हजार ५ सय विरुवा रोपेर व्यावसायिक खुर्सानी खेती सुरु गरेका छन्। २० हजार लगानी भएको छ। अहिलेसम्म ६० हजारको खुर्सानी बिक्री भइसकेको तुलबहादुरले बताए। पहिलो सिजनमै २ लाख बराबरको खुर्सानी बिक्री गर्ने उनको अनुमान छ। अर्को वर्षदेखि १० रोपनी जमिनमा खुर्सानी रोप्ने तयारी गरिरहेको बताए।

खुर्सानी बिक्री गर्न गाउँमै संकलन केन्द्र छ। त्यहाँ २३० रुपैयाँ प्रतिकिलो बिक्री हुन्छ। तर उनी आफैंले बुटवल लगेर प्रतिकिलो ३५० रुपैयाँमा बेच्छन्। नगद आम्दानीले आर्थिक ठूलो राहत मिलेको उनी बताउँछन्।उनी भन्छन्, ‘धेरै मेहनत गर्नु नपर्ने, बाँदर लगायत जंगली जनावरले पनि नखाने।’ रोग कीराबाट बचाउन सके राम्रै उत्पादन हुने तुलबहादुरको अनुभव छ। छोराको पौरख देख्दा बाआमा समेत दंग छन्। ोरोना संकटसँगै होटल र बस व्यवसाय बन्द गर्न बाध्य भए। अहिले खुर्सानी खेती थालेका हुन्। उत्पादनमा जोडिन अन्य युवालाई उनले सुझाए। खेर गएको जमिनको सदुपयोग गर्न सके परिवार, समाज र देशमै बसेर पैसा कमाउन सकिन्छ। श्रमको सम्मान हुने वातावरण सरकारले सिर्जना गर्नुपर्ने तुलबहादुरले बताए। उनी नेकपा एमालेका नेता हुन्।