हजारौँ वर्षदेखि मानव समाजले महिलाको बाह्य प्रजनन् अंगलाई लिएर विभिन्न तरिकाले व्याख्या र विश्लेषण गर्दै आएको छ । कुनै समय यसलाई प्रजनन क्षमता र मातृत्वको प्रतीक मानिन्थ्यो । तर समयसँगै यही शरीरको अंगलाई लाज, गोपनीयता र लुकाउनुपर्ने विषयका रूपमा हेर्न थालियो । आज भने महिलाको शरीर र त्यसको प्राकृतिक बनावटबारे फेरि खुलेर बहस हुन थालेको छ । कला, सामाजिक अभियानदेखि चिकित्सकीय अध्ययनसम्म महिलाको शरीरलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने प्रयास भइरहेका छन् ।हजारौँ वर्षअघि बनाइएका चित्र र मूर्तिहरूमा महिलाको शरीर तथा प्रजनन् अंगलाई विशेष रूपमा देखाइएको पाइन्छ । फ्रान्सका प्राचीन स्थल तथा शोभे गुफामा भेटिएका पुराना चित्रहरूले पनि मानव समाजले धेरै पहिले नै महिलाको शरीरलाई कलामा प्रस्तुत गर्ने गरेको देखाउँछन् । त्यस्तै, मोनपाजियरको सानो ‘भेनस’ मूर्तिमा महिलाको निजी अंगलाई जानाजानी ठूलो देखाइएको छ । यसलाई महिलाको सन्तान जन्माउने क्षमतासँग जोडेर हेर्ने गरिएको इतिहासकारहरूको व्याख्या छ । प्राचीन मेसोपोटामियामा पनि महिलाको यौनिकतालाई लाजको विषयका रूपमा मात्र हेरिँदैनथ्यो । त्यहाँका केही प्राचीन ग्रन्थमा महिलाको यौनिकता र प्रजनन क्षमतासँग सम्बन्धित स्पष्ट उल्लेख पाइन्छ ।तर समयसँगै महिलाको शरीरलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गयो ।आजको समयमा महिलाको शरीरलाई हेर्ने दृष्टिकोणमा अर्को किसिमको दबाब थपिएको छ । अश्लील सामग्री, सामाजिक सञ्जाल, सौन्दर्यसम्बन्धी विज्ञापन तथा विभिन्न कस्मेटिक प्रक्रियाले महिलाको निजी अंग पनि निश्चित आकार र स्वरूपमा हुनुपर्छ भन्ने धारणा बनाउन भूमिका खेलेका छन् । यसबाट ‘आदर्श महिला शरीर’ को एउटा सीमित चित्र निर्माण भएको देखिन्छ । छाला नरम हुनुपर्ने, शरीरमा रौँ हुन नहुने, कुनै दाग वा चाउरी नदेखिनुपर्ने र निजी अंग पनि निश्चित स्वरूपको हुनुपर्ने जस्ता अपेक्षा बढेका छन् ।














