काठमाडौं । केन विलयम्सनले न्युजिल्याण्डको टेष्ट टिमको कप्तानी छाडेका छन् । ६ वर्षदेखि टेष्टको कप्तानी गर्दै आएका विलियम्सनले अब ब्याटिङ र सीमित ओभरको क्रिकेटमा ध्यान दिने भन्दै कप्तानी छाडेको घोषणा गरेका हुन् ।
विलियम्सनले छाडेपछि फास्ट बलर टिम साउदी न्युजिल्याण्डको नयाँ टेष्ट कप्तान नियुक्त भएका छन् । अब न्युजिल्याण्डले टिमकै कप्तानी पाकिस्तान विरुद्ध खेल्नेछ ।
२०२१ मा न्युजिल्याण्डलाई वर्ल्ड टेष्ट च्याम्पियनसिपको उपाधि जिताएका विलियम्सनले ओडिआई र टी–२० अन्तर्राष्ट्रियको कप्तानीलाई निरन्तरता दिनेछन् भने तीनवटै फरम्याट खेल्ने चाहना पनि राखेका छन् ।
‘टेष्ट क्रिकेटमा ब्ल्याक्याप्स (न्युजिल्याण्डको) कप्तानी गर्नु विशेष सम्मान हो । मेरो लागि टेष्ट क्रिकेट खेलकै सबैभन्दा उच्च तह हो र यस फर्म्याटमा नेतृत्व गर्दा म चुनौतीमा रमाएँ,’ विलियम्सनले भने ।
कप्तानीले मैदान भित्र र बाहिर धेरै व्यस्त बनाउने भन्दै निर्णय लिने यो सही समय लागेको विलियम्सनले बताएका छन् । साथै न्युजिल्याण्ड क्रिकेटसँग सल्लाह पछि सीमित ओभरको क्रिकेटमा कप्तानीलाई निरन्तरता दिने बताए । अबको दुई वर्षमा सीमित ओभरको दुई विश्वकप हुने भएकाले त्यसमा ध्यान दिने उनले बताए ।